ई–आर्थिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘मुस्ताङ गोल्ड’ ब्रान्डको मदिरामा अखाद्य वस्तु भेटिएपछि उत्पादक धनुषा डिस्टिलरी प्रा. लि.लाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ।
उपभोक्ताले सिलबन्दी अवस्थामा खरिद गरिएको बोतलभित्र झिँगाजस्तो वस्तु देखिएपछि महानगर प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि महानगरले नमुना संकलन गरी परीक्षण गर्दा बोतलभित्र अखाद्य तत्त्व भएको पुष्टि भएको थियो।
महानगरको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ अनुसार यस्तो कार्य अनुचित व्यापारिक गतिविधिमा पर्ने भन्दै कारबाही प्रक्रिया अघि बढाइएको हो।
काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागका अनुसार, उद्योगले जरिवाना रकम महानगरको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेश गर्नुपर्नेछ।
महानगरले खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति लागू गरेको जनाएको छ। उपभोक्ता स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै यस्ता अनियमिततामाथि कडाइका साथ निगरानी बढाउने महानगरको भनाइ छ।