२०८३ साउन १० आइतबार

उखु किसानलाई ७५ करोडभन्दा बढी अनुदान निकासा, माइतीघरमा आन्दोलन जारी

ई आर्थिक    बुधबार, भाद्र ११ २०८२
3.8K
Shares
उखु किसानलाई ७५ करोडभन्दा बढी अनुदान निकासा, माइतीघरमा आन्दोलन जारी

ई-आर्थिक, काठमाडौं ।   सरकारले उखु किसानलाई दिँदै आएको प्रोत्साहन अनुदानबापतको ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा गरेको छ। अर्थ मन्त्रालयले निकासा गरेको उक्त रकम जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत किसानहरूको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ प्रोत्साहनस्वरूप उपलब्ध गराइनेछ। यद्यपि, यसअघि किसानहरूलाई प्रतिक्विन्टल ७० रुपैयाँ दिइँदै आएकोमा यो वर्ष मुलुकको आर्थिक अवस्था र प्राथमिकताको आधारमा अनुदान आधा घटाइएको हो।

निकासामा भएको ढिलाइप्रति  असन्तुष्टि जनाउँदै तथा मूल्य घटाएकोमा  उखु किसानहरूले काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन जारी राखेका छन्। आन्दोलनकारी किसानहरूले ‘सरकारले प्रतिबद्धता पूरा गर्नुपर्ने’ माग गर्दै धर्ना दिइरहेका छन्।

किसानहरूको दबाबबीच कृषि मन्त्रालय र किसान प्रतिनिधिबीच सिंहदरबारमा वार्ता भएको छ। वार्तामा मन्त्रालयतर्फबाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, उपसचिवहरू लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए। किसानतर्फबाट श्यामबाबु रायसहितको टोली सहभागी भएको थियो।

मंगलबार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेका थिए। मन्त्रालयले आन्दोलन स्थगन गर्न आग्रह गरिरहेको भए पनि किसानहरूको माग पूरा आन्दोलन जारी राख्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij