ई–आर्थिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउँदै रूसमाथि अप्रत्यक्ष आर्थिक दबाब बढाउने रणनीति अघि सारेका छन्। अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा ट्रम्प प्रशासनको यो कदमलाई “बलियो आर्थिक दबाब” का रूपमा व्याख्या गरेका छन्।
एनबीसी न्यूजसँगको कुराकानीमा उपराष्ट्रपति भान्सले भने, “राष्ट्रपतिले रूसलाई आफ्नो तेल व्यवसायबाट धनी हुन नदिन भारतमाथि दोस्रो शुल्क लगाउने निर्णय लिए, जुन आर्थिक रणनीतिको हिस्सा हो।”
उनका अनुसार, ट्रम्प प्रशासनको उद्देश्य रूसलाई युक्रेनमा जारी युद्ध र हिंसा रोक्न बाध्य पार्नु हो। “राष्ट्रपति ट्रम्पले प्रस्ट पारेका छन्—यदि रूसले युद्ध र हत्या बन्द गर्छ भने, उसलाई फेरि विश्वव्यापी अर्थतन्त्रमा समावेश गर्न सकिन्छ,” भान्सले भने।
तर यदि युद्ध जारी रह्यो भने रूसले अलग्गै बस्नुपर्ने चेतावनी पनि उनले दिए। “राष्ट्रपति ट्रम्पले तीन वर्षमा बाइडेन प्रशासनले नसकेको आर्थिक दबाब रूसमाथि सिर्जना गरेका छन्,” उपराष्ट्रपति भान्सको टिप्पणी थियो।
राष्ट्रपति ट्रम्पले यो महिनाको सुरुमा भारतमाथि २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका थिए। यो नयाँ शुल्क आगामी २७ अगस्ट देखि लागू हुनेछ।
ट्रम्प प्रशासनले भारतले युक्रेनविरुद्धको युद्धमा अप्रत्यक्ष रूपमा रूसलाई तेल र हतियार खरिदमार्फत सहयोग गरेको भन्दै थप शुल्क लगाएको स्पष्ट पारेको छ।
यो कदमले भारत-अमेरिका व्यापार सम्बन्धमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ।