२०८३ साउन १२ मंगलबार

वीरगन्जबाट लाखौं नगदसहित दुई हुण्डी कारोबारी पक्राउ, हुण्डीको बढ्दो सञ्जालमाथि प्रहरीको कडाई

ई आर्थिक    शुक्रबार, भाद्र ६ २०८२
3.6K
Shares
वीरगन्जबाट लाखौं नगदसहित दुई हुण्डी कारोबारी पक्राउ, हुण्डीको बढ्दो सञ्जालमाथि प्रहरीको कडाई

वीरगन्ज : वीरगन्ज महानगरपालिका–२ घुसुकपुर ईदगाह चोकबाट १४ लाखभन्दा बढी शंकाास्पद नगदसहित दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन्। पर्सा प्रहरीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेशनमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा वीरगन्ज–२ घुसुकपुर निवासी ३९ वर्षीय संजय साह र बाराको महागढीमाई नगरपालिका–४, बगडमपुर निवासी ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन्।

मोटरसाइकलबाट बरामद भयो लाखौं नगद

पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार, बिहीबार दुईवटा मोटरसाइकलमा सवार ती व्यक्तिहरूलाई इदगाह चोकमा रोकी चेकजाँच गर्दा संजय साहको मोटरसाइकलबाट १० लाख रुपैयाँ, र शनि कुमार ठाकुरको मोटरसाइकलबाट ४ लाख १३ हजार ५ सय रुपैयाँ स्रोत खुल्न नसकेको अवस्थामा फेला परेको हो।

उक्त रकम सम्बन्धी कुनै पनि आधिकारिक कागजात पेश गर्न नसकेकोले दुवैजनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

हुण्डीको बढ्दो सञ्जालमाथि प्रहरीको कडाई

पर्सा प्रहरीले हाल वीरगन्ज क्षेत्रलाई हुण्डी कारोबारको हबको रूपमा चिनिँदै गएको जनाउँदै यसलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिएको छ।

गत महिना पनि प्रहरीले २८ लाख २८ हजार रुपैयाँसहित तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर निवासी अनिल कुमार बर्णवाल, वीरगन्जको आदर्शटोल निवासी बिनित कुमार श्रीवास्तव, र बाराको परवानीपुर निवासी दिपक कुमार सोनार रहेका थिए।

म्याद थप गर्दै अनुसन्धान अघि बढाइँदै

हुण्डी कारोबारमा संलग्न दुई नयाँ पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट म्याद थप गरिएको प्रहरी प्रमुख मिश्रले बताए। प्रहरीले हुण्डी कारोबारविरुद्ध शक्त अनुगमन र नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउने जनाएको छ।

यी घटनाहरूले वीरगन्जमा हुण्डी कारोबार गहिरो जालोका साथ चलिरहेको संकेत दिएका छन्, जसलाई नियन्त्रणमा लिन सुरक्षा निकाय थप सतर्क बन्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij