ई-आर्थिक, जनकपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बिहीबार जनकपुर पुगेर मधेश प्रदेशका विद्युत र सिँचाइ सेवाको अवस्थाबारे जानकारी लिएका छन्। उनले विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाइ विभागका महानिर्देशक मित्र बराल सहितको टोलीलाई जनताको आवश्यकताअनुसार सेवा सुधार गर्न निर्देशन दिएका हुन्।
मन्त्री खड्काले मधेश प्रदेशमा विद्युत चुहावटको समस्या अन्य प्रदेशको तुलनामा गम्भीर रहेको भन्दै तत्काल रोकथामका लागि आवश्यक कदम चाल्न निर्देशन दिए। उनले सुरक्षित विद्युत आपूर्ति सुनिश्चित गर्दै नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्नुपर्नेमा जोड दिए।
प्रदेशका विभिन्न क्षेत्रमा बारम्बार हुने विद्युत अवरुद्धबारे जनगुनासो उल्लेख गर्दै मन्त्री खड्काले २४ घण्टा अविरल विद्युत सेवा पुर्याउने लक्ष्यसहित योजना बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।
उनले मन्त्रालयको कार्यप्रणाली सुधार गर्दै निष्ठाका साथ काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने र जिम्मेवारी पालना नगर्नेहरूलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे। मन्त्री खड्काले सबै कर्मचारीलाई आफ्नो जिम्मेवारी प्राथमिकताका साथ पूरा गर्न आग्रह गरे।