२०८३ साउन १२ मंगलबार

कुवेतमा विषाक्त रक्सी सेवनबाट थप दुई जनाको ज्यान गयो, मृत्यु हुने नेपालीको संख्या ११ पुग्यो

ई आर्थिक    सोमबार, भाद्र २ २०८२
4.5K
Shares
कुवेतमा विषाक्त रक्सी सेवनबाट थप दुई जनाको ज्यान गयो, मृत्यु हुने नेपालीको संख्या ११ पुग्यो

काठमाडौं : कुवेतमा विषाक्त रक्सी सेवन गरेर बिरामी परेका नेपाली श्रमिकमध्ये थप दुई जनाको मृत्यु भएको छ। यससँगै ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको कुवेतस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

विषाक्त रक्सी सेवनपछि बिरामी परेका ४० जना नेपालीमध्ये १५ जना अहिले आईसीयूमा उपचाररत छन् भने अन्यको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ।

शव नेपाल पठाउने प्रक्रिया सुरु

दूतावासले मृत्यु भएका नेपाली श्रमिकहरूको शव नेपाल पठाउने तयारी भइरहेको जानकारी दिएको छ। यसका लागि परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डसँग समन्वय थालिएको दूतावासले जनाएको छ।

मेथानोलयुक्त रक्सी सेवनबाट एक सय ६० जना बिरामी

कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार विषाक्त रक्सी सेवनबाट नेपालीसहित हालसम्म २३ जना विदेशी श्रमिकको ज्यान गएको छ।
अनुसन्धानका क्रममा ती रक्सीमा मेथानोल नामक विषालु रसायन मिसिएको पुष्टि भएको छ। मेथानोल मानव स्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ र अत्यधिक मात्रा सेवन गर्दा अन्धोपनदेखि ज्यानसम्म जान सक्छ।

कुल १६० जना श्रमिक विषाक्त रक्सी सेवनका कारण बिरामी परेको जनाइएको छ।

कुवेतमा करिब १.६ लाख नेपाली श्रमिक

हाल कुवेतमा करिब १ लाख ६० हजार नेपाली श्रमिक कार्यरत छन्। उनीहरू विभिन्न क्षेत्र—निर्माण, घरेलु काम, कम्पनी तथा सेवा क्षेत्रमा संलग्न छन्।

दूतावासले सबै नेपालीलाई यस्ता अवैध तथा स्वास्थ्यका लागि हानिकारक पदार्थ सेवन नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij