ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय स्तरका विकास बैंकहरूले ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा २२.०१ प्रतिशतले बढी हो।
गत आर्थिक वर्ष २०८०/०८१ मा ८ वटै राष्ट्रिय विकास बैंकहरूको संयुक्त नाफा ४ अर्ब ५९ करोड ६२ लाख ५२ हजार रुपैयाँ थियो। चालु वर्षको समीक्षामा सर्वाधिक नाफा कमाउने बैंक मुक्तिनाथ विकास बैंक रहेको छ। बैंकले ३०.८० प्रतिशत नाफा वृद्धि गर्दै १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको हो। अघिल्लो वर्ष बैंकले १ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको थियो।
नाफा वृद्धिको उच्च दरका आधारमा हेर्दा गरिमा विकास बैंक सबैभन्दा अगाडि रहेको छ। समीक्षाको अवधिमा बैंकको नाफा २०१.९७ प्रतिशतले बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ०.४८ प्रतिशतले बढेर ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। सांग्रिला डेभलपमेन्ट बैंकले पनि ६.५१ प्रतिशतले नाफा बढाउँदै ५३ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ। महालक्ष्मी विकास बैंकले १.२६ प्रतिशत नाफा वृद्धि गर्दै ५० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ।
समग्रमा, राष्ट्रिय विकास बैंकहरूको आर्थिक प्रदर्शन गत वर्षको तुलनामा उल्लेखनीय रुपमा सुधार भएको देखिन्छ।
