ई-आर्थिक, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय नतिजा सार्वजनिक गरेको छ, जसअनुसार बैंकले १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा २०१.९७ प्रतिशतको शानदार वृद्धि हासिल गरेको छ। अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ४३ करोड ३९ लाख रुपैयाँ थियो।
बैंकको खुद ब्याज आम्दानी पनि ९.९१ प्रतिशतले बढ्दै ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३ अर्ब ३१ करोड रुपैयाँ थियो।
निक्षेप संकलन ६.९६ प्रतिशतले वृद्धि भई ९० अर्ब १२ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा लगानी ७.३२ प्रतिशतले बढ्दै ६९ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन नाफा १ अर्ब ८९ करोड रुपैयाँमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९५.५८ प्रतिशतले वृद्धि भएको हो।
कर्जा तथा लगानीमा हुने ह्रास (Impairment Charges) ६८.५६ प्रतिशतले घटेर ५३ करोड ७९ लाख रुपैयाँमा झरेको छ, जसले बैंकको समग्र नाफा वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।
प्रमुख वित्तीय सूचकहरूमा समेत सुधार देखिएको छ। पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) १३.४७ प्रतिशत पुगेको छ भने गैर-सञ्चलनशील कर्जा (NPL) ४.८५ प्रतिशतबाट घटेर ४.७२ प्रतिशतमा आएको छ ।
साथै कोषको लागत (Cost of Funds) ६.६४ प्रतिशतबाट घट्दै ४.८४ प्रतिशतमा सीमित भएको छ। बैंकको प्रति सेयर आम्दानी (EPS) २३.०७ रुपैयाँ पुगेको छ भने प्रति सेयर नेटवर्थ १६४.१७ रुपैयाँ रहेको छ।
चौथो त्रैमासको नतिजाले गरिमा विकास बैंकको वित्तीय स्थायित्व, जोखिम व्यवस्थापनमा सुधार र लगानीकर्ताका लागि भविष्यमा अझ राम्रो प्रतिफल दिने संकेत दिएको छ।