२०८३ साउन १२ मंगलबार

नवलपुरमा एक वर्षमा १९१ नयाँ उद्योग दर्ता, ४३८ उद्योग र फर्म बन्द

ई आर्थिक    बिहिबार, साउन २९ २०८२
6.6K
Shares
नवलपुरमा एक वर्षमा १९१ नयाँ उद्योग दर्ता, ४३८ उद्योग र फर्म बन्द

ई-आर्थिक,  नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गत आर्थिक वर्ष २०८१/८२ मा १९१ नयाँ उद्योग दर्ता भएका छन्। तर, सोही अवधिमा २०० उद्योग र २३८ वाणिज्य फर्मको लगत कट्टा (बन्द) गरिँदा खुल्नेभन्दा बढी उद्योग तथा व्यापार बन्द भएका छन्।

पर्यटन तथा उद्योग कार्यालय नवलपुरका अनुसार, दर्ता भएका १९१ उद्योगमध्ये १७४ निजी, सात साझेदारी, र नौ प्रालि (कम्पनी) हुन्। दर्ता हुने उद्योगमध्ये सबैभन्दा धेरै सेवामूलक ७९, कृषि तथा वन पैदावारमा आधारित ६७, उत्पादनमूलक ३८, पर्यटन ३, सूचना प्रविधि २, र निर्माण १ उद्योग छन्।

वाणिज्यतर्फ २०० फर्म दर्ता भएका छन्। तीमध्ये १९८ एकलौटी र दुई साझेदारी फर्म छन्। कारोबारका हिसाबले १९३ खुद्रा र सात थोक व्यापार गर्ने फर्म रहेको पर्यटन तथा उद्योग कार्यालयका सूचना अधिकारी खडकबहादुर थापाले जानकारी दिए।

नवीकरण र संशोधनमा उल्लेख्य संख्या

गत आर्थिक वर्षमा जिल्लामा ८५६ उद्योग र १,३४२ वाणिज्य फर्म नवीकरण भएका छन्। त्यस्तै, १०६ उद्योग र २३८ वाणिज्य फर्मले विवरण तथा पुँजीलगायतका विषयमा संशोधन गराएका छन्।

सूचना अधिकारी थापाका अनुसार, उद्योग तथा व्यवसाय बन्द गर्न आउनेको संख्या पछिल्लो समय बढेको छ। “धेरैले ऋण लिन वा वैदेशिक रोजगारीमा जान उद्योग खोलेका थिए,” उनले भने, “उद्देश्य पूरा भएपछि उद्योग बन्द गर्न आउने संख्या धेरै छ।”

उद्योग बन्द गर्न चाहनेले अनिवार्य रूपमा उद्योग दर्ता गराउने व्यक्तिको उपस्थितिका साथ प्रक्रिया अघि बढाउनु पर्ने नियम रहेको थापाले जानकारी दिए।

राजस्व संकलनमा वृद्धि

गत वर्ष जिल्लामा नयाँ दर्ता तथा नवीकरण भएका उद्योग र व्यवसायबाट १ करोड ३४ लाख ८ हजार ७६१ रुपैयाँ राजस्व संकलन भएको छ।

हालसम्म नवलपुरमा ६,७०३ उद्योग र ८,५०७ वाणिज्य फर्म दर्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij