२०८३ साउन ९ शनिबार

अविरल वर्षाले कालीगण्डकी कोरिडोर र रिडी–वामी सडक पूर्ण रूपमा अवरुद्ध

ई आर्थिक    बुधबार, साउन २८ २०८२
3.3K
Shares
अविरल वर्षाले कालीगण्डकी कोरिडोर र रिडी–वामी सडक पूर्ण रूपमा अवरुद्ध

ई-आर्थिक, गुल्मी । लगातारको वर्षाले जिल्लाका दुई प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा माथिबाट चट्टानसहितको पहिरो खस्दा कालीगण्डकी कोरिडोर अन्तर्गतको गुल्मी खण्ड पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सडक अवरुद्ध भएपछि दुबै दिशाबाट आएका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्। सडक खोल्नका लागि निर्माण कम्पनीले स्काभेटर तयारी अवस्थामा राखेको भए पनि वर्षा नरोकिएकाले र निरन्तर पहिरो झरिरहेकाले तत्कालै सडक खुलाउने कार्यमा समस्या भएको सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए।

त्यस्तै, सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि रिडी–वामीटक्सार सडकखण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। डहरे खोलामा लेदोसहितको बाढी आएपछि रिडी हुँदै बुटवल तथा बुर्तिबाङतर्फ जाने सवारीसाधनहरु बीच बाटोमै रोकिएका छन्।

गत साता सोही खोलाले एउटा कार बगाएको घटनालाई स्मरण गर्दै प्रहरीले सडक आसपासका क्षेत्रहरूमा सावधानी अपनाउन आग्रह गरेको छ।

अवरुद्ध सडक खुलाउनका लागि जोहाङ, खैरेनी र पुर्तीघाटबाट प्रहरी टोली परिचालन गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले वर्षाका बेला खोलातटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ। बडिगाड खोला र कालीगण्डकीमा पानीको सतह बढ्दै गएको भन्दै थप सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij