ब्रसेल्स । युक्रेनविना हुने सम्भावित सम्झौता किएभलाई अस्वीकार्य निर्णयमा बाध्य पार्न सक्ने भन्दै युरोपेली संघ (इयू) का विदेशमन्त्रीहरू आपतकालीन छलफलमा बस्न लागेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी शुक्रबार अलास्कामा हुन गइरहेको उच्चस्तरीय वार्तालाई मध्यनजर गर्दै इयूले सोमबार विशेष बैठक बोलाएको हो।
तीन वर्षदेखि जारी युक्रेन–रुस युद्ध समाधानका लागि प्रस्तावित पुटिन–ट्रम्प वार्तामा युक्रेन समावेश नहुन सक्ने आशंकाले यूरोपमा चासो बढेको छ। इयूले स्पष्ट रूपमा युक्रेन र युरोपेली शक्तिहरू बिना कुनै पनि सम्झौता स्वीकार्य नहुने चेतावनी दिएको छ।
सोमबार दिउँसो २ बजे हुने बैठकमा युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिगा पनि भिडियो लिंकमार्फत सहभागी हुनेछन्। फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, बेलायत, फिनल्यान्ड र युरोपेली आयोग प्रमुख उर्सुला भोन डेर लेयेनले संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पलाई रुसमाथि थप दबाब दिन आग्रह गरेका छन्।
“किएभको सहभागिता बिना कुनै सम्झौता हुनु हुँदैन,” वक्तव्यमा उल्लेख गरिएको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले जेलेन्स्की शिखर सम्मेलनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्। स्क्यान्डिनेभियन तथा बाल्टिक राष्ट्रहरूले पनि युक्रेनलाई वार्ताबाट बहिष्कृत गरिनु नस्वीकार्य भएको बताएका छन्।
युद्धविरामको अवस्थामा मात्र वार्ता हुनसक्ने र युक्रेनको सहमति अनिवार्य हुने स्पष्ट संकेत दिँदै इयूले क्षेत्रीय स्थायित्वका लागि सबै पक्षको सहभागिता अपरिहार्य रहेको बताएको छ।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ट्रम्प–पुटिन वार्तामा युक्रेनको प्रतिनिधित्व सुनिश्चित गर्न अमेरिकाले पहल गरिरहेको जानकारी दिएका छन्।