२०८३ साउन ९ शनिबार

मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौं बोलबम तीर्थालु सडकमै अलपत्र

ई आर्थिक    सोमबार, साउन २६ २०८२
2.7K
Shares
मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौं बोलबम तीर्थालु सडकमै अलपत्र

ई-आर्थिक, खोटाङ।  लगातारको वर्षाका कारण खोटाङको जयराम–हलेसी सडकखण्ड पहिरोले अवरुद्ध हुँदा सयौं यात्रु सडकमै अलपत्र परेका छन्।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आइतबार बिहान करिब १०० मिटर माथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। पहिरोले झण्डै १०० मिटरको सडक भाग पुरिएको र ठूला ढुंगा, माटो र रुखसहितको पहिरोका कारण सवारीसाधन सञ्चालनमा अवरोध भएको हो।

सडक बन्द भएपछि काठमाडौं तथा तराईतर्फ गएका तथा फर्केका सवारीसाधन बाटोमै रोकिएका छन्। विशेषगरी हलेसीमा बोलबम मेला भर्न गएका तीर्थालुहरू पहिरोका कारण बाटोमै अड्किएका छन्।

“पहिरो ठूलो छ, तत्काल पन्छाउने अवस्था छैन,” जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले भने, “एकातिरको सवारी जयराममा, अर्कोतर्फको दुर्छिममा रोकिएको छ।”

साउन महिनाको अन्तिम सोमबार भएकोले हलेसी जाने भक्तजनको सङ्ख्या अन्य दिनको तुलनामा निकै बढी रहेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता तथा वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए। “सयौं तीर्थालुहरू सडकमै रोकिएका छन्, उद्धार प्रयास जारी छ,” उनले भने।

सडक खुलाउने कार्यमा हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्ग आयोजनाको स्काभेटर परिचालन गरिएको छ। तर लगातारको वर्षाले काममा अवरोध भइरहेको नगरप्रमुख विमला राईले जानकारी दिइन्।

“ढुंगा, माटो र रुखको थुप्रो छ,” उनले भनिन्, “यात्रा गर्नु अघि यात्रुहरूले स्थानीय प्रशासनबाट जानकारी लिएर मात्रै यात्रा गर्नुपर्छ।”

यस पहिरोले दाम्ली–डिकुवा सडकसमेत पूर्णरूपमा अवरुद्ध भएको स्थानीय बासिन्दाले बताएका छन्।

हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गर्दछ। हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको साझा धार्मिक गन्तव्यस्थल हलेसीमा नेपालका सबै जिल्ला र भारत, चीन, भूटान लगायतका देशबाट समेत भक्तजन आउने गर्दछन्।

स्थानीय प्रशासनले सम्भव भएसम्म बेलुकासम्म सडक खुलाउने प्रयास भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij