ई-आर्थिक, कञ्चनपुर । भीमदत्त नगरपालिकास्थित जिल्ला कारागार कञ्चनपुरमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी राखिँदा व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। पुरुषका लागि १४० र महिलाका लागि २० जनाको क्षमता रहेको कारागारमा हाल ४४३ जना पुरुष र २७ जना महिला कैदीबन्दी राखिएको जिल्ला समन्वय समितिले जनाएको छ।
आइतबार समितिका प्रमुख दुर्गादत्त बोहराको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा, अत्यधिक भीडभाड, जीर्ण संरचना, शौचालयको अभाव र मर्मतसम्भारको आवश्यकता रहेको पाइएको हो। बोहराका अनुसार, भवनको प्लास्टर खसिएको छ भने भूकम्प जस्ता विपद्का बेला जोखिम थपिने देखिएको छ।
कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीका अनुसार, सबैभन्दा बढी १७६ जना कैदी लागुऔषध सम्बन्धी अभियोगमा रहेका छन्। क्षमताभन्दा बढी कैदी भएकाले पाल र टिनको अस्थायी संरचना बनाइएको छ। उनले विगतमा जस्तो खुला आकाशमुनि बस्नुपर्ने अवस्था नभएको बताए।
हाल कारागारमा कर्तव्य ज्यानमा ५६, जबरजस्ती करणीमा ९९, चोरीमा ६७, मानव बेचबिखनमा १९, ज्यान मार्ने उद्योगमा सात, ठगी, बैंकिङ कसुर, सार्वजनिक अपराध, बहुबिवाह लगायतमा पनि कैदीबन्दी छन्।
अनुगमनका क्रममा बन्दीहरूले नयाँ भवनको मागसँगै उपचार खर्च राज्यबाट व्यवस्था गर्नुपर्ने, सिधा खर्च बढाउनुपर्ने र बसोबासको अवस्था सुधार गर्नुपर्ने माग गरेका थिए।
अनुगमन टोलीमा जिल्ला समन्वय समितिका अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, मानव अधिकारकर्मी, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष लगायत सहभागी थिए। कारागारको भीड र संरचनाको अवस्था हेर्दा तत्कालीन सुधार नहुँदा भविष्यमा ठूलो दुर्घटनाको जोखिम रहन सक्ने उनीहरूको चेतावनी छ।