ई-आर्थिक, काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको सञ्चालन नाफा यस वर्ष ५ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४१.२७ प्रतिशतले वृद्धि भएको हो। यद्यपि, खुद ब्याज आम्दानी भने ६.९३ प्रतिशतले घटेर ९ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ।
नाफामा वृद्धि हुनुमा इम्पेयरमेन्ट चार्ज (खराब कर्जा व्यवस्थापन खर्च) मा भएको ठूलो गिरावट प्रमुख कारण मानिएको छ। अघिल्लो वर्ष यो चार्ज २ अर्ब ४५ करोड रुपैयाँ रहेकोमा, हाल यो घटेर १० करोड ६२ लाख रुपैयाँ मा झरेको छ।
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने प्रति शेयर लाभांश क्षमता १५ रुपैयाँ ५८ पैसा रहेको छ। अघिल्लो वर्ष यो मात्र ४ रुपैयाँ ९ पैसा थियो।
बैंकको खराब कर्जा (NPL) अनुपात ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा झरेको छ। निक्षेप संकलन २ खर्ब ९३ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ।
हाल बैंकको कुल सम्पत्ति ३ खर्ब ६२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। प्रति शेयर आम्दानी (EPS) २७ रुपैयाँ ६३ पैसा रहेको छ भने नेटवर्थ २४१ रुपैयाँ ४ पैसा कायम छ।
कृषि विकास बैंकले वित्तीय सूचकहरूमा देखाएको सुधारले आगामी दिनमा लगानीकर्ताको विश्वास थप बलियो हुने विश्लेषकहरू बताउँछन्।