ई-आर्थिक, दार्चुला । भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिएपछि महाकाली नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ।
बाँधको ढोका मंगलबार बिहान ६ बजेबाट खोलिएपछि नेपालतर्फको महाकाली नदीमा पानीको बहाव तीव्र रूपमा बढ्न थालेको हो। यसका कारण दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्लाका तटीय बासिन्दालाई सतर्क रहन सम्बन्धित स्थानीय प्रशासनले आग्रह गरेका छन्।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले एक सूचना जारी गर्दै व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका तटीय क्षेत्र उच्च जोखिममा रहेको जनाएका छन्। उनले बुधबार बिहान ६ बजेसम्म नदीमा जलस्तर बढ्न सक्ने भन्दै स्थानीयलाई नदी किनारबाट टाढा रहन आग्रह गरेका छन्।
यसैगरी बैतडीका प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले पनि सेरादेखि कुस्मतघाटसम्मका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेका छन्।
यसअघि धौलीगंगा परियोजनाले बाँधको ढोका खोलिने जानकारी दिँदै दार्चुला र बैतडी प्रशासनलाई औपचारिक पत्राचार गरेको थियो। बाँध सफाइका लागि ढोका खोलिएको जनाइएको छ।
चारपाङ्ग्रे सवारीसाधनमा रोक
महाकाली नदीमा पानीको बहाव बढेसँगै कञ्चनपुरस्थित महाकाली पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, आज बिहानदेखि प्रतिसेकेण्ड १,०२,७४२ क्युसेक पानीको बहाव मापन भएपछि उक्त निर्णय लिइएको हो। बहाव एक लाख क्युसेक नाघ्नेबित्तिकै पुलमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाउने परम्पराअनुसार अहिले पूर्णरूपमा सवारी रोकिएको छ।
सतर्कताको सीमा नजिक महाकालीको जलस्तर
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीको जलस्तर अहिले सतर्कताको बिन्दु नजिक पुगेको छ। विशेषतः दार्चुलाको दत्तु क्षेत्र आसपास नदीको बहाव अझै बढ्ने सम्भावना रहेकाले सावधानी अपनाउन प्रशासनले जोड दिएको छ।