ई-आर्थिक, काठमाडौं । पछिल्ला वर्षहरूमा भिजिट भिसामा विदेश जाने नेपाली महिलाको संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ। सन् २०२१ मा कुल यात्रुमा १४.४ प्रतिशत मात्र रहेका महिला यात्रुको हिस्सा सन् २०२४ मा ४२.१ प्रतिशतसम्म पुगेको छ।
नेपाल अध्यागमन विभागका तथ्यांकअनुसार युएई, थाइल्याण्ड, ओमान, कतार, मलेसिया लगायतका गन्तव्यमा भिजिट भिसामा जाने महिलाको संख्या उल्लेख्य रहेको छ। विशेषगरी युएई, ओमान र कुवेतमा सन् २०१९ देखि २०२४ को पाँच वर्षको अवधिमा महिला यात्रुको संख्या पुरुषको तुलनामा बढी देखिएको छ।
भिजिट भिसामा विदेश यात्रा गर्नेको संख्या बढ्दो
सन् २०२४ मा दुई लाख ७१ हजार ३०५ नेपाली नागरिकले भिजिट भिसामा विभिन्न देशको यात्रा गरेका छन्। यसअघि सन् २०२३ मा दुई लाख दुई हजार ४१९, सन् २०२२ मा एक लाख ७५ हजार ७९०, र सन् २०२१ मा ९० हजार १८१ जनाले यस्ता यात्रा गरेका थिए। हालसम्म सन् २०२५ को जुलाईसम्म मात्रै एक लाख ३४ हजार ८२५ नेपालीले भिजिट भिसामा विदेश यात्रा गरिसकेको अध्यागमन विभागले जनाएको छ।
के कारणले भिजिट भिसामा वृद्धि ?
विशेषज्ञहरूका अनुसार भिजिट भिसाको लोकप्रियता बढ्नुमा केही कारणहरू रहेका छन्। श्रम स्वीकृति प्रक्रियाको झन्झट र ढिलासुस्ती, भिजिट भिसामा छिटो विदेश जान सकिने, सरकारी प्रतिबन्धको छलफल, कम लागत, आकर्षक तलब र एजेन्टहरूको प्रभावलगायत कारण प्रमुख हुन्।
त्यसैगरी, काम खोज्ने स्वतन्त्रताप्रतिको सोच, वैधानिक प्रक्रियाको जानकारी अभाव, बिचौलियाको विश्वासमा लागेर फस्ने प्रवृत्ति र जोखिमप्रति सचेतता नहुनुजस्ता कारणले पनि भिजिट भिसाको प्रयोग श्रमको विकल्पका रूपमा भइरहेको देखिन्छ।
अध्यागमन सुधार र सुरक्षामा जोड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेका अनुसार भिजिट भिसा प्रक्रियामा देखिएको अव्यवस्था सुधार गर्न विशेष कार्ययोजनासहित काम भैरहेको छ। उनले भने, “यो राष्ट्रको गरिमासँग जोडिएको विषय हो। अध्यागमन सुधार भनेको प्रविधिमैत्री, सुरक्षित, पारदर्शी र नागरिकप्रति जवाफदेही प्रणाली निर्माण गर्नु हो।”
उनका अनुसार अध्यागमन सुधारमार्फत राष्ट्रिय सुरक्षाको संरक्षण, साथै नेपाली तथा विदेशी नागरिकको अधिकार र मर्यादाको सम्मान कायम गर्नेतर्फ अग्रसरता लिइएको छ।
दलालहरूको प्रभावमा परेर ‘सेटिङ’ मार्फत भिजिट भिसामा कामको आशमा विदेश जाने सर्वसाधारण धेरै तहमा ठगिने गरेका छन्। अध्यागमन कार्यालयसम्म पुग्दासम्म पनि आधा दर्जनजति व्यक्तिबाट पैसा असुलिएको पाइन्छ।
यस्तो अवस्थाबाट जोगिनका लागि सरकारी निकायहरूबीच समन्वय र नागरिकस्तरमा सचेतना अभियान आवश्यक देखिन्छ। अन्यथा, भिजिट भिसाको दुरुपयोगले वैदेशिक रोजगार क्षेत्रमा थप समस्या निम्त्याउने खतरा विशेषज्ञहरूले औंल्याएका छन्।