ई- आर्थिक, काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् बैठकले असार २३ र ३० गते गरेको २९ निर्णय सार्वजनिक गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई न्यूयोर्कमा हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणमा सहभागी हुन स्वीकृति दिएको प्रवक्ता गुरुङले जानकारी दिए ।
यसैगरी नेपाल राष्ट्र बैंकबाट नयाँ हजार रुपैयाँ दरका नोट प्रकाशनको तयारी स्वरूप नोटको चित्र तथा आकार स्वीकृत गरिएको छ ।
साथै, विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट थप १०.८ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार्ने निर्णय भएको छ । साथै, प्रत्येक वर्ष साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ को रूपमा मनाउने र उखु उत्पादक कृषकहरूलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा. खगराज शर्मा, रुपन्देहीलाई नियुक्ति गरेको छ । साथै सरकारले नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष श्री शरद ओझाको आचरण, कार्यक्षमता र पदीय जिम्मेवारी पालना सम्बन्धमा समग्र रूपमा छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश श्री कृष्ण गिरीको अध्यक्षतामा श्री जीवन प्रकाश सिटौला र श्री कपिलदेव ओली सदस्य रहेको छानबिन समिति गठन गरेको मन्त्री गुरुङले बताए ।
छानबिन समाप्त भई अर्को व्यवस्था नहुन्जेल सम्मका लागि नेपाल बीमाप्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्ने गरी अर्थ मन्त्रालयका सहसचिव श्री सेवन्तक पोखरेललाई तोक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने, एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा र एक महासेनानीलाई सहायक सेनानीमा बढुवा गर्ने निर्णय गरेको छ ।
निर्माणाधीन नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको उनी बताउछन् ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु



