२०८३ साउन ९ शनिबार

पाँच करोडको लगानीमा बन्धातालमा पूर्वाधार निर्माण गरिँदै

ई आर्थिक    मंगलबार, असार ३१ २०८२
4.3K
Shares
पाँच करोडको लगानीमा बन्धातालमा पूर्वाधार निर्माण गरिँदै

ई-आर्थिक, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-४ स्थित पर्यटकीय गन्तव्य बन्धातालको पर्यटन विकासका लागि पूर्वाधार निर्माण सुरु गरिएको छ।

सरकारले २०७५ सालमा घोषणा गरेका सयवटा नयाँ पर्यटकीय गन्तव्यमध्येको बन्धातालमा पर्यटकीय पूर्वाधार निर्माणका लागि संघ सरकारको पाँच करोड ४३ लाख रूपैयाँ लागतमा निर्माण कार्य भइरहेको छ।

ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यअनुरुप गत जेठमा ठेक्का सम्झौता भएर काम भइरहेको बेलौरी नगरपालिकाका इन्जिनियर जगदीश जोशीले जानकारी दिए।

‘हाम्रो अवधारणा बीचमा मन्दिर बनाउने र मन्दिरसम्म जानका लागि पुल निर्माण गर्ने हो, छेउछाउमा पनि ट्रस्ट पुल बनाउने योजना हो’, जोशीले भने, ‘यो योजनाअनुसार तालमा पूर्वाधार निर्माण गर्न २७ करोड रूपैयाँ लागत अनुमान गरिएको छ।’

उनले पहिलो चरणमा तालको चारैतिर पर्खाल निर्माण गरेर संरक्षण गरिने र पर्यटकको सहजताका लागि विभिन्न संरचना निर्माण हुने बताए।

२७ बिघा क्षेत्रफलमा फैलिएको यो तालको संरक्षण र पर्यटकीय विकासका लागि पालिकाले पनि नगर गौरवको योजनामा समेटेर बन्धाताललाई बेलौरीको चिनारीका रूपमा विकास गर्न खोजेको बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले बताए।

‘तालको विकासका लागि थप बजेटका लागि संघ र प्रदेश सरकारसँग माग गरिरहेका छौँ’, उनले भने, ‘नगरपालिकाको बजेटबाट पनि पर्यटकीय विकासका लागि पूर्वाधार निर्माण भइरहेका छन्।’ ताल परिसरमा पूर्वाधार निमार्णका लागि दाउत निर्माण सेवा र भूमिराज कन्स्ट्रक्सनले संयुक्त रूपमा गरिरहेका छन्।

गत जेठ ९ गतेको ठेक्का सम्झौताअनुसार आगामी असार मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने छ। स्थानीयका अनुसार गोलो घेरामा फैलिएका कारण तालको नाम बन्धाताल रहन गएको हो। उक्त तालमा विभिन्न प्रजातिका माछा, जलपन्छी र चराचुरुङ्गीको समेत अवलोकन गर्न सकिन्छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij