२०८३ साउन १२ मंगलबार

सिक्टा सिंचाइ आयोजनाको पश्चिमी क्षेत्रमा छैटौँ शाखा नहर निर्माण, एक लाख जनसंख्या लाभान्वित

ई आर्थिक    मंगलबार, असार १७ २०८२
4.3K
Shares
सिक्टा सिंचाइ आयोजनाको पश्चिमी क्षेत्रमा छैटौँ शाखा नहर निर्माण, एक लाख जनसंख्या लाभान्वित

ई-आर्थिक, बाँके ।  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न भएको छ।

बैजनाथ गाउँपालिका-५ मा पर्ने छैटौँ गुरुवागाउँ शाखा नहर निर्माणपश्चात सोमबार पानी छाडेर परीक्षण गरिएको छ। नहरमा पानी छाडिएपछि किसान हर्षित भएका छन्। रोपाइँको समयमा किसानले पम्पसेट लगाएर धमाधम पानी तानिरहेका छन्।

यो नहरमा प्रशाखा र उपशाखा निर्माण भएपछि किसानलाई अझ सहज हुने आयोजनाका निर्देशक राजु आचार्यले बताउँछन्। उनका अनुसार ११ किलोमिटर लामो यो नहरबाट सात हजार ८१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगी एक लाख जनसंख्या लाभान्वित हुने अनुमान छ।

नहरमा पानी छाेडेपछि ११ किलोमिटर नहर क्षेत्रको अवलोकनसमेत गरिएको थियो। स्थानीयको माग र सहजताका लागि बस्ती क्षेत्रमा नहर छेउछाउमा तारजाली लगाइएको छ भने कतिपय स्थानमा सिँढीसमेत बनाइएको छ।

भैरव सुभानी जेभी काठमाडौंले तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी २०८० चैत १८ गते सम्झौता गरेकामा सम्झौता अवधि अगावै काम सम्पन्न भएको छ। २०८३ चैत १७ गते सम्पन्न गर्नुपर्ने मिति हो। ३७ करोड ८२ लाख ८४ हजार सात सय ३५ रुपैयाँमा ठेक्का गरिएको आयोजनाका इन्जिनियर विनेश श्रेष्ठले बताउँछन्।

उनका अनुसार गुरुवागाउँ शाखा नहरमा हालसम्म ९८ प्रतिशत भौतिक प्रगति भएको छ। अब केही सामान्य ‘फिनिसिङ’को काम मात्र बाँकी छ। बाँकेको बैजनाथ र खजुरा गाउँपालिकामा खेतीयोग्य जमिनलाई सिँचाइ गर्ने लक्ष्यका साथ गुरुवागाउँ शाखा नहर निर्माण गरिएको हो।

राप्ती सोनारी-२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले बाँकेको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएको छ। पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ।

पश्चिमी मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी नहरबाट ९ हजार हेक्टर जमिनमा पानी सिंचाइ गर्ने लक्ष्य लिइएको छ। हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ। पश्चिमी मूल नहरको ४५ दशमलव २५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ।

पूर्वी मूल नहरको ५३ दशमलव ५० किलोमिटरमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माणसम्पन्न भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij