२०८३ साउन ९ शनिबार

तिंकर जोड्ने महाकाली करिडोरमा १९ हजार रुख काटिदै, पर्याप्त बजेट नहुँदा निर्माणले गति लिन सकेन्

ई आर्थिक    मंगलबार, जेष्ठ २७ २०८२
2.1K
Shares
तिंकर जोड्ने महाकाली करिडोरमा १९ हजार रुख काटिदै, पर्याप्त बजेट नहुँदा निर्माणले गति लिन सकेन्

ई-आर्थिक, कञ्चनपुर । कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकर जोड्ने महाकाली करिडोरअन्तर्गत पर्ने वन क्षेत्रमा रूख कटानको काम भइरहेको छ।

कोरिडोरअन्तर्गत कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा गरी करिब १९ हजार रूख कटान गर्नुपर्ने महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका कार्यालयका योजना प्रमुख दीपक सुनारले जानकारी दिए।

उनका अनुसार अहिले कञ्चनपुर र डडेल्धुरामा रूख कटानको काम भइरहेको छ । ‘सबैभन्दा बढी रूख कटान गर्नुपर्ने डडेल्धुरामा रूख कटानको काम भइरहेको छ’, उनले भने, ‘करिडोरअन्तर्गत करिब १९ हजार रूख काट्नुपर्ने छ।’ रूख कटानको काम सम्बन्धित जिल्लास्थित डिभिजन वन कार्यालयबाट भइरहेको छ।

महाकाली कोरिडोरअन्तर्गत पर्ने कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा जिरो प्वाइन्टदेखि ११ किलोमिटरसम्ममा रूख कटान सुरू गरिएको छ। दुई वर्षअघि नै रूख कटानको आदेश आए पनि उक्त क्षेत्रमा रूख कटान हुन सकेको थिएन।

डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत सुवास कुँवरले अहिले सिद्धनाथ सामुदायिक वन क्षेत्रभित्र पर्ने रूख कटानको काम भइरहेको छ। ‘शून्यदेखि ११ किलोमिटर क्षेत्रमा पर्ने ११५ रूख कटान गर्नुपर्ने छ’, उनले भने।

त्यसैगरी डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार १० हजार ४७६ रूख काट्नुपर्नेमा अहिले आठ हजार ३७ रूख कटानको आदेश भएको छ। कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिंकरसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदैछ। जसमध्ये ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका कार्यालयले जनाएको छ।

सडक योजनाका कार्यालयका योजना प्रमुख दीपक सुनारले आयोजनालाई पर्याप्त बजेट नहुँदा निर्माणले गति लिन नसकेको बताए। ‘ठेक्का लागेको मात्रै डेढ अर्ब छ नयाँ ठेक्का लगाउन सकिने अवस्था छैन’, उनले भने, ‘आगामी आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएको छ।’ आयोजनाका लागि आगामी आथिक वर्षमा २३ करोड मात्रै बजेट आएको छ।

करिडोरको अझै ५५ किलोमिटर ट्र्याक खोल्न बाँकी छ। करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किमी, बैतडीमा १४४ किमी र दार्चुलामा १२१ किमी सडक निर्माण हुनेछ। जसमध्ये कञ्चनपुरमा ११ किमी ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किमी ट्रयाक खुलेको छ। त्यसैगरी बैतडीमा ११४ किमी र दार्चुलामा ७७ किमी ट्रयाक खुलेको छ। योजनाका लागि चालु आर्थिक वर्षमा ४१ करोड ५० लाख बजेट विनियोजन भएको थियो।

करिडोर बनेपछि ब्रहमदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पञ्चेश्वर, चमेलिया, दार्चुला जिल्लाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिंकर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक सांस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्‍याउने छ।

सुदुरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सिमामा रहेको पिल्लर नं १ सम्म निर्माण हुने यस सडक योजनाबाट उक्त क्षेत्रमा बसोबास गर्ने करिब एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने सरकारको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij