२०८३ साउन ९ शनिबार

विदेशी मुद्रा सञ्चिति २३.०१ प्रतिशतले वृद्धि, १७.४ महिनाको वस्तु आयात धान्न पुग्ने

ई आर्थिक    मंगलबार, जेष्ठ २७ २०८२
1.1K
Shares
विदेशी मुद्रा सञ्चिति २३.०१ प्रतिशतले वृद्धि, १७.४ महिनाको वस्तु आयात धान्न पुग्ने

ई-आर्थिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आर्थिक तथा वित्तिय अवस्थाको तथ्याङ्क सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको १०  महिनामा कुल विदेशी विनिमय सञ्चिति २३.०१ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार  २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले वृद्धि भई २०८२ वैशाख मसान्तमा २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोडरहेकोमा २०८२ वैशाख मसान्तमा २०.५प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८ खर्ब ४८ अर्ब ५५करोड रहेकोमा २०८२ वैशाख मसान्तमा १९.६ प्रतिशतले वृद्धि भई रु.२२ खर्ब ११ अर्ब ११ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा ५६.८ प्रतिशतले वद्धि भई रु.३०१ अर्ब ८३ करोड कायम भएको छ । २०८२
वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८२ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदाय सँगका अनुपातहरु क्रमशः ४१.१ प्रतिशत, १२१.४ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij