ई-आर्थिक, काठमाडौं । सरकारले तीन वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरुको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।
नेपाल नागरिक उड्डयन प्रधान कार्यालयको कारवाहीको सिफारिसमा बाँकेको डडुवा गाउँपालिक मा रहेको यज्ञश्वरी निर्माण सेवा र त्यसका प्रमुख व्यक्ति बिना बिसीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीको सिफारिसमा काठमाडौंमा रहेको एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुंगाना र खेमराज आचार्य डेढ वर्षका लागि कालोसूचीमा परेको छ ।
साथै, पूर्वाधार विकास कार्यालय सल्यानको सिफारिसमा सल्यान, तुलसी निर्माण सेवा र त्यसका मुख्य व्यक्ति पूर्णबहादुर भण्डारीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
