ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोडको वस्तु निर्यात भएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिमा ७२.७१ प्रतिशतले बढी हो । भन्सार विभागको अनुसार
गत आर्थिक वर्षको १० महिनामा १ खर्ब २६ अर्ब १७ करोडको वस्तु निर्यात भएको थियो। १० महिनामा १४ खर्ब ७४ अर्ब १८ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा १३ खर्ब ३ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आवको साउनदेखि बैशाख मसान्तसम्ममा आयात करिब १३.११ प्रतिशतले बढेको छ भने चालु आवको बैशाखमा मात्रै १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ।
सोयाविन तेलको कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी निर्यात गरेकाले आयात तथा निर्यातको तथ्यांकमा सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको १० महिनामा देशको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ को १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो ।