२०८३ साउन ९ शनिबार

एक वर्षमै चार खर्ब रुपियाँले बढेर मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब रुपियाँ पुग्ने

ई आर्थिक    बिहिबार, बैशाख १८ २०८२
2.8K
Shares
एक वर्षमै चार खर्ब रुपियाँले बढेर मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब रुपियाँ पुग्ने

अर्थतन्त्रका सबै क्षेत्रमा सुधार, प्रतिव्यक्ति आय पनि बढ्यो

ई–आर्थिक, काठमाडौं । एक वर्षमै चार खर्ब रुपियाँले बढेर मुलुकको अर्थतन्त्रको आकार चालु आवमा ६१ खर्ब सात अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । अर्थतन्त्रसम्बन्धी आधिकारिक तथ्याङ्क राख्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्कले अर्थतन्त्रका अधिकांश क्षेत्रमा सुधार हुँदा अर्थतन्त्रको आकार बढ्ने अनुमान गरेको हो । गत आवमा अर्थतन्त्रको आकार ५७ खर्ब नौ अर्ब रुपियाँ पुगेको संशोधित अनुमान छ । अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा मापन गर्ने प्रचलन छ ।

चालु आव २०८१/८२ मा अर्थतन्त्रको वृद्धि दर भने ३.९९ प्रतिशत हुने कार्यालयको अनुमान छ । आर्थिक वृद्धि दर मापनका लागि कार्यालयले आव २०६७/६८ लाई आधार वर्ष मानेर स्थिर मूल्य कायम गरेको छ । स्थिर मूल्यका आधारमा अर्थतन्त्रमा सो बराबरको वृद्धि दर हासिल हुने देखिएको हो । कार्यालयले अर्थतन्त्रका विभिन्न १८ वटा क्षेत्रको वृद्धि दर पनि स्थिर मूल्यकै आधारमा गर्छ । कर र सहुलियतसमेत समावेश हुने उपभोक्ता मूल्यका आधारमा भने अर्थतन्त्रको वृद्धि दर ४।६१ प्रतिशत हुने अनुमान छ । यसअघि विश्व बैङ्कले चालु आवमा नेपालले ४।५ प्रतिशत र एसियाली विकास बैङ्कले ४।४ प्रतिशतको वृद्धि दर हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेका थिए ।

कार्यालयले राष्ट्रिय तथ्याङ्क अनुमान गर्दा चालु आवको छ महिनादेखि नौ महिनासम्मको तथ्याङ्क प्रयोग गरेको र आगामी महिनाहरूमा कुनै पनि झट्का नहुने अनुमान गरिएको जनाएको छ ।

अर्थतन्त्रका सबै क्षेत्रमा सुधार

राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आवमा औद्योगिक वर्गीकरण अनुसारका १८ वटै क्षेत्रमा वृद्धि हुने अनुमान गरेको छ । समीक्षा अवधिमा विद्युत्, ग्यासको कुल मूल्य अभिवृद्धि सबैभन्दा धेरै १३.८२ प्रतिशत हुने अनुमान छ । त्यसपछि यातायात तथा भण्डारण क्षेत्रको ९.४५ प्रतिशत, वित्तीय तथा बिमा क्षेत्रको ६.२९ प्रतिशत, आवास तथा भोजन सेवा क्षेत्रको पाँच प्रतिशत वृद्धि हुने अनुमान कार्यालयको छ । गत आवमा शिथिलता भोगेको घरजग्गा कारोबारमा २.७२ प्रतिशतको सुधार आउने देखिएको छ । उद्योग क्षेत्रको वृद्धि दर भने ३.७८ प्रतिशत हुने प्रक्षेपण छ । सुस्ताएको निर्माण क्षेत्रमा २.२१ प्रतिशतको सुधार आउने अनुमान छ । अर्थतन्त्रमा सबैभन्दा धेरै २५.१६ प्रतिशत योगदान दिने कृषि, वन तथा मत्स्य क्षेत्रको कुल मूल्य अभिवृद्धि दर ३.२८ प्रतिशत हुने अनुमान छ । कृषि उत्पादनमा हुने वृद्धिलाई यस क्षेत्रको वृद्धिको कारण मानिएको छ ।

प्रतिव्यक्ति आय बढ्यो

चालु आवमा नेपालीको प्रतिव्यक्ति आय ५० डलरले बढेर एक हजार ५१७ अमेरिकी डलर पुग्ने कार्यालयको अनुमान छ । गत आवमा यस्तो आय एक हजार ४६७ डलर पुगेको संशोधित अनुमान छ । वैदेशिक रोजगारीबाट प्राप्त हुने विपे्रषण जिडिपीसँग तुलना गर्दा २५.८९ प्रतिशत पुग्ने अनुमान छ । त्यस्तै चालु आवमा आधारभूत मूल्यका आधारमा कुल उत्पादन ९२ खर्ब ४६ अर्ब रुपियाँ पुग्ने अनुमान छ । गत आवमा यस्तो उत्पादन ८७ खर्ब ८० अर्ब रुपियाँ रहेको संशोधित अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij