ई–आर्थिक, काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी तत्कालै थुनामुक्त गर्न भन्दै प्रहरीलाई पत्र पठाएको छ। यसअघिको पत्र अदालतको आधिकारिक पत्र नभएको उल्लेख गर्दै पत्र पठाइएको हो ।
यसअघि अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरी पक्राउ गर्नु भन्दै प्रहरीलाई पत्र पठाएका थिए। त्यसअनुरूप प्रहरीले चौधरीलाई पक्राउ गरिसकेको थियो। अहिले विष्ट पक्राउ परिसकेका छन् । बिष्टलाई अहिले प्रहरीको जिम्मा लगाइएको छ ।

सर्वोच्च अदालतको सुरक्षा इकाईले विष्टलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको हो । बुधबार विष्टले सर्वोच्चको मुद्दा तथा रिट महाशाखाबाट चौधरीलाई पक्राउ गर्न पत्र लेखेका थिए । उक्त पत्रका आधारमा प्रहरीले चौधरीलाई कमलादीबाट पक्राउ गरी डिल्लीबजार कारागार पठाएको थियो । सर्वोच्चले पत्र पठाए लगतै चौधरी रिहा भएका छन् । कारागार नियन्त्रणमा रहेका चौधरी ४ घण्टा पछि रिहा भएका हुन् ।
तर, पत्र अनधिकृत र कुनै न्यायिक आदेशबिना जारी भएको पुष्टि भएपछि सर्वोच्चले उक्त पत्र कार्यान्वयन नगर्न निर्देशन दिएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति जारी गर्दै विष्टमाथि कानुनी कारबाही प्रक्रिया सुरु भएको जनाएका छन् ।
