२०८३ साउन १२ मंगलबार

मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा अधिबढ्दै, ६ महिनामा प्राधिकरणलाई हस्तान्तरणको लक्ष्य

ई आर्थिक    सोमबार, बैशाख १५ २०८२
4.5K
Shares
मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा अधिबढ्दै, ६ महिनामा प्राधिकरणलाई हस्तान्तरणको लक्ष्य

ई-आर्थिक, मुस्ताङ ।  हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा अघि बढेको छ। नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्मको ३३ केभी प्रशारण ट्रान्समिसनलाइन विस्तार अघि बढाएको हो।

३३ केभी प्रशारण लाइन १०३ किलोमिटर दुरीमा फैलिने छ। उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरलानाकासम्म हाल ११ केभी विद्युत् क्षमताको प्रशारणलाइन सञ्चालनमा छ।प्राधिकरणले मुस्ताङको थासाङ-२ कोवाङसम्म केन्द्रीय प्रशारणलाइनअन्तर्गत ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको पहुँच पुर्याएको छ।

यसलाई जिल्लाभरि नै केन्द्रीय प्रशारण लाइनमा जोड्ने गरी प्राधिकरणले ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको योजना अघि बढाएको हो। प्राधिकरणको मापपदण्डअनुसार एक सब-स्टेशनबाट अर्को विद्युत् सब-स्टेशनसम्म विद्युत् प्रशारण गर्न ५० किलोमिटर भन्दामाथि जानुहुँदैन।

तर, मुस्ताङको कोवाङदेखि कोरलानाकासम्म करिब एक सय ५० किलोमिटर दुरीमा सिधै ११ केभीको विद्युत् प्रशारणलाइन सञ्चालनमा छ। यसैका कारण मुस्ताङ जिल्लामा पटक/पटक विद्युत् आपूर्तिमा समस्या र चुनौती हुँदै आएको छ।

हाल मुस्ताङको कोवाङबाट उत्तरी क्षेत्रसम्म सञ्चालन भइरहेको प्रशारणलाइन सिधै ११ केभीको हुँदा मुस्ताङका नागरिकले चरम विद्युतीय समस्या झेल्दै आएका छन्। हालको ११ केभी विद्युत् लाइनको सेवाले कुनै एक स्थानमा विद्युत् समस्या आइपर्दा पूरै जिल्लामा विद्युत् आपूर्ति बन्द हुन्छ।

मुस्ताङ जिल्लाको विद्युत् प्रशारणलाइनलाई दीगो, भरपर्दो र प्रभावकारी तुल्याउन प्राधिकरणले ३३ केभी प्रशारणलाइनको ठेक्का लगाएको हो। मुस्ताङको कोवाङदेखि चैलेसम्म र चैलेदेखि उपल्लो मुस्ताङको चराङसम्म दुई ‘सेसन’मा सब-स्टेशन निर्माण गर्ने तयारी छ।

उक्त प्रशारणलाइन विस्तार गर्न सन् २०२३ को जुलाईमा ‘प्याराडाइज हुलास जेकेबी’ (जेभी) सँग २७ करोड ६५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको जेभीका प्रतिनिधि इञ्जिनियर दीपककुमार मण्डलले बताए। प्राधिकरणले हालको ११ केभी प्रशारणलाइनलाई पूरै विस्थापित गर्ने गरी ३३ केभी नयाँ ट्रान्समिसन प्रशारणलाइनको काम अघि बढाएको जेभीका प्रतिनिधि इञ्जिनियर मण्डलको भनाइ छ।

प्रशारणलाइन विस्तार दुई वर्षको ठेक्का सम्झौता अनुसार सन् २०२५ को जुलाईसम्म सम्पन्न हुनेछ। ठेक्कापछि विद्युत् पोल गाड्न ६ फिट गहिराइको खाल्डो र पीसीसी खन्ने कामसँगै विद्युत् पोल विस्तार ९५ प्रतिशत काम सम्पन्न गरेको निर्माण कम्पनीले जनाएको छ।

अबको ६ महिनाभित्रै प्राधिकरणलाई हस्तान्तरण गर्ने लक्ष्यसहित प्रशारणलाइनको तार तान्ने काम तीव्रगतिमा काम भइरहेको कम्पनीले जनाइएको छ। थासाङ गाउँपालिका-२ कोवाङदेखि जोमसोमसम्म करिब २५ किलोमिटर दुरीमा ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको तार तान्ने काम सकिएको छ।

‘अहिले जोमसोम र ठिनीलगायतका दुई/तीन स्थानमा विद्युत् तार तान्ने काम भइरहेको छ’, इञ्जिनियर मण्डलले भन्छन्, ‘उपल्लो मुस्ताङमा पनि मौसम अनुकूल छ, त्यहाँ अर्को टोलीलाई तार तान्ने काममा खटाउने तयारीमा छौँं।’ मुस्ताङको चराङसम्म काम सकिएलगत्तै विद्युत् प्रशारणको परीक्षण स्वरुप प्रसारणलाइन सञ्चालनमा ल्याएर प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना निर्माण कम्पनीको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij