२०८३ साउन १२ मंगलबार

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गभर्नर नियुक्ति सिफारिस समिति गठन

ई आर्थिक    शुक्रबार, फाल्गुन २३ २०८१
4.8K
Shares
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गभर्नर नियुक्ति सिफारिस समिति गठन

ई–आर्थिक, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सिफारिस गर्न समिति गठन गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिसका लागि समिति गठन गर्ने निर्णय गरेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिका अन्य सदस्य भने छलफलबाट तय हुने बताइएको छ । राष्ट्र बैंक ऐनले अर्थमन्त्रीको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्रीको अध्यक्षतामा पूर्वगभर्नरमध्येबाट एकजना र आर्थिक, मौद्रिक, बैंकिङ वित्तीय तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट नेपाल सरकारले तोकेको एकजना व्यक्ति सदस्य रहने व्यवस्था छ । सिफारिस समितिले गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । तीनमध्ये एकजना डेपुटी गभर्नर अनिवार्यरूपमा हुनुपर्ने व्यवस्था छ । वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी २४ चैतमा सकिँदैछ ।

सामान्यतयाः बहालवाला गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नै गभर्नर नियुक्त गरी सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा व्यवस्था छ । गभर्नरको दौडमा हालका डेपुटी गभर्नरहरूसँगै पूर्वडेपुटीहरू, राष्ट्र बैंककै वहालवाला कार्यकारी निर्देशक र रिटायर्ड कार्यकारी निर्देशक, अर्थविद्हरू, प्रशासकहरू, विभिन्न सरकारी निकायमा कुशल नेतृत्व गरी बाहिरिएकाहरू रहेका छन् ।

देशको केन्द्रीय बैंकका रूपमा काम कारबाही गर्ने नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको निष्कासन, बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरीवेक्षण, अनुगमन, मूल्य स्थिरता, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ तथा भुक्तानी प्रणालीको विकासलगायतका क्षेत्रमा काम गर्छ भने सरकारको आर्थिक सल्लाहकार पनि हो । नीतिगत हेरफेरमार्फत् आर्थिक स्थायित्वमा योगदान पुर्‍याउने र नियामकीय सुधारमार्फत् वित्तीय क्षेत्रसँगै अर्थतन्त्रमा टेवा पुर्‍याउन मिल्ने भएकाले गभर्नर पदमा सबैको चासो हुनु स्वाभाविक पनि हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij