ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
केन्द्रिय बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ ।
आयात ७.१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङक छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.१ प्रतिशतले र अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु.२४९ अर्ब २६ करोडले बचतमा रहेको छ ।साथै, कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेको छ ।
नेपाल सरकारको खर्च रु.६६७ अर्ब ६० करोड र राजस्व परिचालन रु.५५९ अर्ब ६१ करोड रहेको छ ।
विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.२ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङकले देखाउछ ।