२०८३ साउन ९ शनिबार

वीरगञ्ज भन्सार कार्यालयद्वारा छ महिनामा ८० अर्ब पाँच करोड राजस्व सङ्कलन

ई आर्थिक    सोमबार, माघ ७ २०८१
4.8K
Shares
वीरगञ्ज भन्सार कार्यालयद्वारा छ महिनामा ८० अर्ब पाँच करोड राजस्व सङ्कलन

ई-आर्थिक, वीरगंज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू ८० अर्ब पाँच करोड ५१ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको छ महिनाको अवधिमा रू एक खर्ब चार अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव ८४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सवारीसाधन र पेट्रोलियम पदार्थमा आयात बढेसँगै राजस्व सङ्कलनमा सुधारोन्मुख रहेको बताए। “सवारीसाधनको आयात र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छ,” उनले भने, “साउनयताकै पुस महिनामा उच्च राजस्व सङ्कलन भएको छ ।”

वीरगञ्ज भन्सारले चालु आवको साउन महिनामा रू १२ अर्ब १५ करोड राजस्व सङ्कलन गर्यो। त्यसैगरी, भदौमा रू १३ अर्ब ४२ करोड, असोज महिनामा रू १३ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको थियो । त्यसैगरी, कात्तिकमा रू ११ अर्ब १० करोड, मङ्सिरमा भने रू १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो । पुसमा चालु आवकै सबैभन्दा धेरै अर्थात् रू १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले चालु आवको छ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३६ दशमलव ५६ प्रतिशत राजस्व सङ्कलन गरेको हो । भन्सार विभागले कार्यालयका लागि वार्षिक रू दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । त्यसैगरी, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि चालु आवको छ महिनाको अवधिमा रू २३ अर्ब ३४ करोड ३३ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij