२०८३ साउन ९ शनिबार

गोरखामा घरेलु मदिरा धमाधम ब्राण्डिङ गरी विक्री वितरण गरिदै

ई आर्थिक    सोमबार, पौस २२ २०८१
8.2K
Shares
गोरखामा घरेलु मदिरा धमाधम ब्राण्डिङ गरी विक्री वितरण गरिदै

सुष्मा सापकोटा, गोरखा । गोरखामा उत्पादित अर्गानिक घरेलु मदिरा (लोकल रक्सी) खरिद गरी अब निर्वाध उपभोग गर्न पाइने भएको छ । जिल्लाका केही पालिकाले घरेलु मदिरा को ब्राण्डिङ सुरु गरि विक्री वितरण गर्ने भएसँगै घरेलु मदिरा उपभोग गर्न पाइने भएको हो । गण्डकी गाउँपालिकाले घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण सुरु गरिसकेको छ ।

त्यसैगरी अजिरकोट गाउँपालिकाले पनि घरेलु मदिरा ब्राण्डिङ गरी विक्री वितरणको अन्तिम तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले जानकारी दिए ।

गण्डकी गाउँपालिकाले ‘गण्डकी कोदोको रक्सी’ नाम दिएर स्थानीय बजारमा बिक्री वितरण सुरु गरेको हो । मदिरा उत्पादन र ब्राण्डिङको जिम्मा पालिकाले महिला समूहलाई दिएको छ । हाल वडानम्बर २ को जलकन्यादेवी कृषक समूह र वडानम्बर ६ चिसापानीको महिला समूहले लोकल रक्सी उत्पादन र ब्राण्डिङको काम गरिरहेका छन् ।

उनीहरुलाई पालिकाले आवश्यक तालिम र घरेलु मदिरा उत्पादनका लागि आवश्यक भाँडाकुडा वितरण गरेको हो । ‘कोदो र रैथाने बाली प्रबर्द्धन कार्यक्रम अन्तरगत उनीहरुलाई कोदो उत्पादनसम्बन्धी तालिम दिएर रक्सी बनाउने भाँडाकुडासँगै बोत्तल र स्टीकर पनि वितरण गरिएको छ ।

कोदो उत्पादन गरेर ती समूहमा बेच्नेलाई प्रतिकेजी ५ रुपैयाँ अनुदान रकम पालिकाबाट उपलब्ध हुदैँ आएको छ ।

ती समूहरुले आफैं रक्सी उत्पादन गर्छन् । शुद्ध कोदो र जडीबुटी मिसाएर उत्पादन गरिएको रक्सीलाई मेसिनमा राखेर अल्कोहलको मात्रा नापिन्छ । अनि लेवल ठीक भए त्यसलाई ब्राण्डिङ गरेर बोत्तलमा राखिन्छ । अनि बाहिर ब्राण्डको नाममा स्टीकर राखेर बजारमा लगिन्छ ।

‘धेरैजसो रक्सी महिला समूह आफैंले पार्नुहुन्छ, अन्तबाट पनि किनेर ल्याउँछन् तर शुद्ध कोदो र जडीबुटीको मात्र भए किन्छन्, तर मिसावट वाला लिंदैनन्,’ अध्यक्ष देवकोटाले भने ।

महिला समूहले उत्पादन गरेर ब्राण्डिङ गरेको रक्सी पातिस्वाँरा मनमोहक होमस्टेका साथै पालिकाभित्र बिक्री वितरण हुने गरेको वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार स्थानीय स्तरमा उत्पादित कोदो अपुग हुने गरेको छ ।

शहीद लखन गाउँपालिकाबाट कोदो किनेर ल्याउने गरेको उनले बताए ।

ब्राण्डिङ गरिएको रक्सी बेनिघाट, हाइवे, लगायतका ठाउँमा बिक्री हुने गरेको छ । बाहिरी जिल्लामा ढुवानीका लागि वैधानिकता नपाएकाले पनि समस्या भएको उनको गुनासो छ ।

मगरात होमस्टेले पनि लोकल रक्सीलाई ब्राण्डिङ गरेर बेच्न सुरु गरेको उनले जानकारी दिए । बाहिरबाट आउने अखाद्य पदार्थ मिसिएको रक्सी नियन्त्रणमा लागि लोकल रक्सीलाई ब्राण्डिङ गर्न थालिएको पालिकाले जानकारी दिएको छ ।

त्यसैगरी अजिरकोट गाउँपालिकाले पनि लोकल रक्सीको ब्राण्डिङ गर्ने अन्तिम तयारी गरेको छ । कानून सम्वत रुपमा जान खोज्दा केही समस्या भएकाले पालिकाले केही मापदण्ड र कार्यविधि बनाएर अघि बढेको पालिका अध्यक्ष देवकोटाले जानकारी दिए । ‘होमस्टेलाई यसको जिम्मा दिने हो,’ उनले भने, ‘केही टिमलाई अध्ययन अवलोकनमा समेत लगिसकेका छौं, अब केही समयपछि उत्पादन सुरु हुन्छ ।’

अजिरकोट ब्राण्ड नाम राखेर बजारमा ल्याइने उनले जानकारी दिए । ब्राण्डिङका लागि होम स्टेहरुलाई बोत्तल र स्टिकर सहयोग गरिने बताइएको छ । माघ महिनासम्म ब्राण्डिङ गरेर स्थानीय बजारमा घरेलु मदिरा आउने पालिका अध्यक्ष देवकोटाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij