ई-आर्थिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा महिलामा हुने पाठेघर तथा स्तनसम्बन्धी क्यान्सर रोकथामका लागि देशैभर अभियानका रुपमा स्क्रिनिङ थाल्ने उल्लेख थियो ।
साेहि अनुसार फागुन महिनाभर देशैभर एकै साथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए ।
“क्यान्सरको उपचारसँगसँगै लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने मन्त्रीज्यूको प्राथमिकता छ,” लालले भने, “त्यसै अनुसार यस वर्ष अभियानकै रुपमा एकै साथ परीक्षण गर्न लागेका हौं ।” यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गरिने उनले जानकारी दिए ।
नेपालमा सन् २०२२ मा कृल मृत्यु भएका १४ हजार मध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या ७ हजार ७६८ रहेको ग्लोबल क्यान्सर अब्जर्भेटरीको तथ्यांकमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका २ हजार १६९ तथा स्तनसम्बन्धी दुई हजार २५५ नयाँ बिरामी भेटिएका छन् ।
हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । यसैगरी अब्र्जभेटरीका अनुसार विश्वभर प्रति एक लाख रोगीमा ७ जनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै ९ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने विज्ञहरुले बताउने गरेका छन् ।