२०८३ साउन १२ मंगलबार

हेटौंडा सिमेन्ट उद्योगले पुसको पहिलो सातादेखि उत्पादन थाल्ने, तयारी पनि थाल्यो

ई आर्थिक    सोमबार, मंसिर १७ २०८१
3.1K
Shares
हेटौंडा सिमेन्ट उद्योगले पुसको पहिलो सातादेखि उत्पादन थाल्ने, तयारी पनि थाल्यो

ई–आर्थिक, हेटौंडा । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन गर्ने भएको छ । उद्योगले उत्पादन सुरु गर्ने तयारी समेत थालेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताए पनि उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ अझै उत्पादन अझै सुरु हुन नसकेको हो ।

‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरूको मर्मत कार्य अझै भइरहेकै छ । उद्योगले तिहारसम्ममा मर्मत सकिन्छ र त्यसलगत्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेको थियो । तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन अझै केही दिन लागिरहेको उद्योगले जानकारी दिएको छ ।
उपकरणहरूको मर्मत कार्य सम्पन्न हुनेबितिकै यही पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भइरहेको छ । उद्योग व्यवस्थापनले यही असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।

उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मतसम्भारमा समय लागेको उद्योगले जानकारी दिएको छ । मर्मत सम्भारको काम तीव्र रूपमा भइरहेकाले छिटै सकिने र त्यस लगत्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको उद्योगको भनाई छ ।
‘‘उद्योगसँग कच्चा पदार्थको कुनै अभाव नरहेको पनि उद्योगले जानकारी दिएको छ । उद्योगका अनुसार उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात रहेको छ ।

थप कोइला खरिदको प्रक्रिया पनि अघि बढाइसकेकोले कोइलाको अभाव नहुने भएको हो ।

आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो ।

यही भदौको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अविधमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको छ । २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij