ई-आर्थिक, काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उनको आइतबार निधन भएको परिवारजनले जानकारी दिएको छ ।
ढुङ्गाना वरिष्ठ अधिवक्ता हुन् उनी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनले २०४८ देखि २०५१ सम्म सभामुख चलाएका थिए ।
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
यसैबिच, प्रधानमन्त्री के.पी शर्मा ओलीले ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओली सामाजिक सञ्जालमार्फत भन्छन् , ‘‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवङ्गत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना !’’