ई-आर्थिक, काठमाडौं । मानव तस्करीकाे आरोप लागेका कोसी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्राेतले बताएकाे छ । उनलाई निवासबाटै पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । उनलाई काठमाडौँ ल्याउने तयारी गरिएकाे छ ।
मानव तस्कर गिरोहसँग जाेडिएपछि अधिकारीलाई एमाले कोसी प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेकाे थियाे भने साे निर्णय शनिबार बसेकाे केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।
अधिकारीको विषयमा गम्भीर प्रश्न उठेको र त्यो प्रश्नको कानुनी निरूपण नभएसम्मका लागि कोसी प्रदेश कमिटीले उनलाई पार्टीका सबै जिम्मेवारी र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने निर्णय गरेको थियो।
प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई अधिकारी जापान उडेका थिए । तर, उनीसँगै गएका अन्य ३ जनासमेतलाई जापानकाे अध्यागमनले विमानस्थलबाटै डिपोर्ट गरेकाे थियाे । त्यसपछि नेपाल फर्किएका अधिकारीले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए ।
मानव तस्करीको आरोप लागेपछि पक्राउ परेका मन्त्री अधिकारीले अनुसन्धानमा सहयोग गर्न काठमाडौँ जान लागेको प्रतिक्रिया दिएका थिए । उनले अनुसन्धानमा सहयोग गर्न काठमाडौँ जान लागेको बताए । उनले भने अनुसन्धानमा सहयोग गर्नु मेरो दायित्व हो, बाँकी कुरा अनुसन्धानबाट जे हुन्छ त्यसै अनुसार अघि बढ्छ ।’