२०८३ साउन १० आइतबार

नेपालबाट कस्तो सीप भएका कामदार वैदेशिक रोजगारीमा गइरहेका छन्

ई आर्थिक    सोमबार, असोज २८ २०८१
13.3K
Shares
नेपालबाट कस्तो सीप भएका कामदार वैदेशिक रोजगारीमा गइरहेका छन्

पछिल्ला वर्षहरूमा आवश्यक सीप सिकेर तथा दक्षता हासिल गरेर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढ्न थालेको अधिकारी तथा श्रम आप्रवासन विज्ञहरूले बताएका छन्।

ई–आर्थिक, काठमाडौं । अघिल्लो दशकसम्म उच्च सङ्ख्यामा अदक्ष नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जाने गरेकोमा केही वर्षदेखि भने त्यसमा परिवर्तन देखिन थालेको उनीहरू बताउँछन्।

सरकारी तथा गैरसरकारी क्षेत्रबाट भएका श्रम आप्रवासनसम्बन्धी अध्ययन प्रतिवेदनहरूमा पनि त्यस्तै प्रकारको विवरण पाइन्छ।

यद्यपि अझै धेरै कमाइ हुने उच्च दक्ष तथा व्यावसायिक सीप भएका नेपाली कामदारको सङ्ख्या न्यून रहेको देखिन्छ।

कतिपय विज्ञहरू भने सरकारी विवरणमा अविश्वास गर्दै “दक्ष कामदार” भनेर गरिने परिभाषा नै बदल्नु पर्ने आवश्यकता औँल्याउँछन्।

सरकारी अधिकारीहरू पनि त्यसलाई अस्वीकार गर्दैनन् तर सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या क्रमश: बढिरहेको उनीहरूको दाबी छ।

अवस्था कस्तो छ ?

वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेमध्ये झन्डै ८० प्रतिशत दक्ष जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ।

“उच्च दक्ष जनशक्तिका रूपमा नेपालबाट डाक्टर, इन्जिनियर र चार्टर्ड एकाउन्टेन्टजस्ता व्यक्तिहरू जाने गरेका छन्,” उनले भने।

यद्यपि त्यस्ता व्यक्तिहरूको सङ्ख्या निकै कम रहेको तथ्याङ्क विभागको विवरणमा देखिन्छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निकालेको पछिल्लो ‘नेपाल लेबर माइग्रेसन रिपोर्ट’ अनुसार अघिल्लो दशकभरि वैदेशिक रोजगारीमा जानेमा अदक्ष कामदारको सङ्ख्या सबैभन्दा धेरै थियो।

सन् २०१७/१८ सम्म त्यस्ता कामदारको सङ्ख्या ६४ प्रतिशत रहेकोमा त्यसपछि क्रमश: त्यसमा कमी आउन थालेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यसमा भनिएको छ, “यसले गन्तव्य मुलुकहरूका दक्ष श्रम बजारतर्फ नेपाली श्रम आप्रवासनको क्रमिक रूपमा विस्तार हुन थालेको सङ्केत गर्न सक्छ।”

उच्च दक्ष कामदार कामदार गन्तव्य मुलुकमा जाने क्रममा भने खासै परिवर्तन नआएको प्रतिवेदनमा जनाइको छ।

विभागले जारी गरेको श्रम स्वीकृतिसम्बन्धी विवरण अनुसार गत आर्थिक वर्षमा कुल ७ लाख ४१ हजार २ सय ९७ जनाले श्रम स्वीकृति वा पुन: श्रम स्वीकृति लिएका थिए।

त्यसमध्ये दक्ष कामदारको सङ्ख्या ५ लाख ३२ हजार १ सय २३ रहेको छ भने अदक्ष कामदारको सङ्ख्या १ लाख ४५ हजार ५ सय ४७ रहेको छ।

त्यसअघिको दुई आर्थिक वर्षमा पनि दक्ष कामदारको सङ्ख्या नै अदक्षको तुलनामा बढी देखिएको छ।

‘उच्च दक्षले आफैँ काम खोज्छन्, अदक्ष म्यानपावरबाट जान्छन्’

उक्त प्रतिवेदन अनुसार अधिकांश उच्च दक्ष र व्यावसायिक कामदारहरूले आफैँ काम खोजेर व्यक्तिगत श्रम स्वीकृति लिने गरेको पाइएको छ।

“श्रम स्वीकृति प्राप्त गर्ने तरिकाको विश्लेषणले उच्च दक्ष र व्यावसायिक व्यक्तिहरूले व्यक्तिगत श्रम स्वीकृति लिएको देखाउँछ,” प्रतिवेदनमा भनिएको छ।

“त्यस विपरीत दक्ष, अर्धदक्ष र अदक्ष वर्गका अधिकांश व्यक्तिहरूले म्यानपावरहरूमार्फत् श्रम स्वीकृति लिएको देखिन्छ।”

त्यसले उच्च दक्ष कामदारहरूले रोजगारीका लागि पूरा गर्नुपर्ने प्रक्रियाहरूबारे आफैँले स्पष्ट रूपमा बुझेको सङ्केत गर्ने प्रतिवेदनमा उल्लेख छ।

तर अन्य कामदारले त्यस्तो जानकारी कम पाएको हुन सक्ने सरकारी तथ्याङ्कको विश्लेषणले देखाउने त्यसमा जनाइएको छ।

दक्ष र अदक्ष कसरी छुट्ट्याइन्छ ?

वैदेशिक रोजगार विभागका अधिकारीहरूले दिएको जानकारीअनुसार व्यक्तिगत रूपमा वा म्यानपावरमार्फत् प्रक्रिया सुरु गर्दा भरिने फारममै कामदारको सीपसम्बन्धी विवरण पनि भर्नु पर्ने हुन्छ।

“त्यहाँ भरिएको विवरणका आधारमा हामीले यो वर्गीकरण गरेका हौँ,” विभागका निर्देशक सुवेदीले भने।

“एउटा काममा गएर केही वर्ष सोही कामको अनुभव लिएर फर्केका र पुन: श्रम स्विकृति लिनेहरू प्राय:लाई दक्ष कामदारकै रूपमा राख्ने गरिन्छ किनभने त्यो व्यक्तिले आफ्नो काममा दक्षता हासिल गरिसकेको हुन्छ।”

उनका अनुसार पछिल्ला वर्षमा नेपालमै सीप सिकेर जानेहरूको पनि सङ्ख्या बढेको छ र रोजगारदातालाई उनीहरूले तालिम तथा अनुभवको प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ।

त्यस्ता व्यक्तिहरूले पनि दक्ष कामदारका रूपमा फारममा उल्लेख गरेका हुन्छन् र सोही विवरण सरकारी तथ्याङ्कमा देखिने अधिकारीहरू बताउँछन्।

दक्ष कामदारको सङ्ख्या बढ्दा फाइदा हुन्छ ?

नेपालको एउटा प्रमुख वैदेशिक मुद्रा आर्जनको क्षेत्र भएको र लाखौँ नेपालीको जीवनस्तरसँग जोडिएकाले कामदारहरूलाई वैदेशिक रोजगारीमा जानुअघि व्यावसायिक सीप सिक्न प्रोत्साहित गर्नुपर्ने कतिपय विज्ञहरूको भनाइ छ।

त्यसले देशभित्र रोजगारी नभएर विदेश जानुपर्ने बाध्यताका मानिसहरूको कमाइ राम्रो हुने उनीहरू बताउँछन्।

“दक्ष कामदारहरू विदेशमा गए भने उनीहरूको आम्दानी बढी हुन्छ। त्यसले रेमिट्यान्स पनि बढाउँछ त्यो राम्रो पक्ष हो,” श्रम मामिला विज्ञ गणेश गुरुङले भने।

“देशबाट दक्ष मानिस बाहिरिँदा मुलुकभित्रैको कतिपय क्षेत्रमा त्यस्ता कामदारको पूर्तिमा समस्या हुन सक्छ र त्यो चाहिँ घाटाको कुरा हो।”

यद्यपि उनी वैदेशिक रोजगारीमा जाने झन्डै ८० प्रतिशत दक्ष व्यक्तिहरू रहेको सरकारी विवरणमा विश्वास गर्दैनन्।

“जसरी विवरण राखिएको छ त्यसको परिभाषा नै फेर्नुपर्छ। नेपालबाट वैदेशिक रोजगारीमा ८० प्रतिशत दक्ष मानिसहरू गएका छैनन्,” उनले भने।

“त्यसरी गएको भए त रेमिट्यान्समा पनि त्यो देखिन्थ्यो। ८० प्रतिशत मानिसहरू दक्ष भएर मात्र विदेश जान्छन् भन्ने विवरण खासै विश्वासिलो छैन।”

अधिकारीहरू पनि कुनै पनि काममा एक पटक अनुभव लिइसकेको मानिसलाई दक्ष मानिएकाले सङ्ख्या धेरै देखिएको स्वीकार्छन्।

यद्यपि उनीहरू गुरुङले भनेजस्तो तत्काल दक्ष र अदक्ष कामदारसम्बन्धी परिभाषा नै परिवर्तन गर्ने पक्षमा नदेखिएको समाचार बिष्णु पोखरेलले बीबीसीमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij