२०८३ साउन १० आइतबार

७ खर्ब १ अर्ब रुपियाँ आन्तरिक राजस्वको लक्ष्य पुरा गर्ने गरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

ई आर्थिक    शनिबार, भाद्र २९ २०८१
3.6K
Shares
७ खर्ब १ अर्ब रुपियाँ आन्तरिक राजस्वको लक्ष्य पुरा गर्ने गरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

ई–आर्थिक, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताउनुभएको छ।

आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने बताउनुभयो।

उहाँले करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो।

अर्थमन्त्री पौडेलले कार्य प्रकृया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा विद्युतीय सुशासनमा जोड दिँदै नतिजामा आधारित व्यवसायिक संगठन तथा कार्य विशिष्टकरणको लागि संस्थागत सुधारमा पनि थप पहल गर्ने बताउनुभयो।

ठूला कर कार्यालयको बक्यौता र बेरुजु बढेको भन्दै उहाँले बक्यौता असुली र बेरुजु फर्छ्यौटको विशेष अभियान नै सञ्चालन गर्न निर्देशन दिनुभएको छ।

कार्यक्रममा अर्थ सचिव डा. रामप्रसाद घिमिरेले आफ्नो जिम्मेवारी र दायित्व बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो।

राजस्व सचिव दिनेशकुमार घिमिरेले राजस्व परिचालनको लक्ष्यलाई ध्यान दिएर अघि बढ्न निर्देशन दिनुभयो।

आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले चालु आर्थिक वर्षमा लिइएको राजस्वको संकलनको लक्ष्यलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

चालु आर्थिक वर्षमा ७ खर्ब १ अर्ब रुपियाँ आन्तरिक राजस्वबाट संकलन गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij