२०८३ साउन ९ शनिबार

जेठ १ गतेदेखि लागु हुने गरी ब्रोकर कमिसन १० प्रतिशतले घट्ने, शेयर बजारका लगानीकर्तालाई राहत

ई आर्थिक    सोमबार, बैशाख २४ २०८१
6K
Shares
जेठ १ गतेदेखि लागु हुने गरी ब्रोकर कमिसन १० प्रतिशतले घट्ने, शेयर बजारका लगानीकर्तालाई राहत

ई–आर्थिक, काठमाडौं । शेयर बजारमा उत्साह आउन नसकिरहेकोबेला सरकारले शेयर कारोबारमा दलाल कमिसन घटाउने निर्णय गरेर लगानीकर्तालाई राहत दिने काम गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्णयअनुसार सरकारले सेयर कारोबार गरेबापत दलाल कम्पनीले लिँदै आएको कमिसनमा १० प्रतिशतले घटाउने निर्णय गरेको हो ।

सरकारको निर्णयसँगै हाल कायम ०.२७ प्रतिशतदेखि ०.४० प्रतिशतसम्मको दलाल कमिसन न्यूनतम ०.२४ प्रतिशतमा झर्ने भएको छ । बोर्ड सञ्चालक समितिको आइतबार बसेको बैठकले जेठ १ गतेदेखि लागु हुने गरी दलाल कमिसन घटाउने निर्णय गरेको हो ।

हालको दलाल कमिसनको दर अनुसार ५० हजार रुपैयाँसम्मको कारोबारमा ब्रोकर कम्पनीहरुले ०.४० प्रतिशत र ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन लिने गरेका छन् । नयाँ निर्णयअनुसार १० प्रतिशतले कमिसन घट्दा यस्तो कमिसन क्रमशः ०.६६ प्रतिशत र ०.३३ प्रतिशतमा झर्नेछ ।

यस्तै हालसम्म पाँच लाख भन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत दलाल कमिसन लाग्दै आएको छ । अब भने सो परिमाणको कारोबारमा क्रमशः ०.३१ प्रतिशत,०.२७ प्रतिशत र ०.२४ प्रतिशत कायम हुनेछ । धितोपत्र बोर्ड अधिकारीकाअनुसार नयाँ कमिसन दर नेपाल स्कट एक्सचेञ्ज (नेप्से) र सीडीएर एण्ड क्लियरिङ लिमिटेडलाई व्यवस्थापन गर्न समय दिइएकाले जेठ १ गतेदेखि लागू हुनेछ ।

लामो समयदेखि शेयर बजार २ हजारको बिन्दु वरिपरि घुमिरहेको छ । गत साता ३३ अंकले घटेको नेपाल स्टक एक्चेञ्ज (नेप्से) यो साताको आइतबार २४.५८ र सोमबार १५.६२ अंकले घटेको छ । समग्रमा गत सातामा बढेको नेप्से यो साताको दुई दिनमै त्यसभन्दा धेरै घट्न पुग्यो । बजारमा उत्साह नभएपनि कारोबारको परिमाण भने राम्रै भइरहेको छ । पछिल्लो समय निरन्तर घटिरहेको बजारमा दलाल कसिमन घटेसँगै लगानीकर्ताहरुलाई राहत हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij