ई–आर्थिक, काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बाँसबारी जग्गाका विषयमा अहिले ‘प्रहसन’ चलिरहेको टिप्पणी गर्दै त्यसको छिनोफानो अदालतले गर्ने बताएका छन् । निर्वाण चौधरी ग्रुपका अध्यक्षसमेत रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका छोरा हुन् ।
सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा शनिबार लामो अभिव्यक्ति सार्वजनिक गर्दै प्रबन्ध निर्देशक निर्वाणले राजनीतिक स्वार्थसिद्ध गर्न बाँसबारी जग्गा प्रकरणमामा प्रहसन चलिरहेको टिप्पणी गर्दै अदालतले त्यसको छिनोफानो गर्ने बताएका हुन्।
‘केही समयदेखि बाँसबारी जग्गाका विषयमा जुन धारावाहिक प्रहसन चलेको छ, यसमा थप टिप्पणी गर्न चाहन्न,’ उनले लेखेका छन्,‘न्यायालयले नै यसको छिनोफानो गर्ने नै छ। म यत्ति मात्रै भन्न चाहन्छु, कि तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न जे जस्ता कार्यहरू भइरहेका छन्, यसले यो मुलुकलाई कता लैजान्छ, एकपटक सबैले आत्मसमिक्षा गरौं ।’
आज यो देश कुन अवस्थामा छ ? कसरी यस्तो भयो ? यो देशको हित कसले गर्छ ? भन्नेबारे युवाहरूले एकपटक आफैलाई प्रश्न सोध्नेबेला भएको निर्वाणले बताएका छन्। ‘के युवाहरू स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् ? वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन् ?,’ उनले प्रश्न गरेका छन्। अहिले भइरहेका गतिविधिलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिँदै निर्वाणले ‘यसले जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ?’ भनेर प्रश्न गरेका छन्।
भारतमा १८० वर्ष पहिले टाटा समूह आएर त्यसले भारतीय अर्थतन्त्रमा ठूलो योगदान दिँदै भारतको गौरव बनेको दृष्टान्त उल्लेख गर्दै निर्वाणले नेपालमा १५० वर्षअघि आएको चौधरी परिवारक छैठौं पुस्तामा चलिरहेको उल्लेख गरेका छन् ।
चौधरी ग्रुपले नेपालको कुल राजश्वमा करिब २ प्रतिशत योगदान दिइरहेको, देशको सबैभन्दा ठूलो रोजगारदाता रहेको, नेपालबाहिर पनि तीव्र व्यापार विस्तार गरेर नेपाली चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डालाई विश्वमन्चमा फैलाइरहेका दाबी गरेका छन् ।
‘हाम्रो प्यारो देश नेपालको आर्थिक समृद्धिका लागि सदैव समर्पित र प्रतिबद्ध छौं। देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला निस्वार्थ सहायताको कार्यमा हामी सबैभन्दा अगाडि छौं भन्दा बडो आत्मसन्तुष्टि हुन्छ,’ निर्वाणले लेखेका छन्,‘भूकम्पका बेला होस्, कोरोना वा यस्तै अन्य कुनै आपत्कालीन समयमा हामी निसंकोच जनताको सेवामा जोडिँदै आएका छौं। हाम्रो विश्वसनीयता र उत्कृष्ट ट्याक रेकर्डकै कारण त हामीसङ्ग हार्वर्ड बिजिनेस स्कुल, बिल र मेलिन्डा गेट्स फाउन्डेसन वा टाटाहरूलगायतले सहकार्य गर्दै आएका छन्।’
काठमाडौंको बाँसबारीमा रहेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैह्रकानुनी ढंगबाट चौधरी समूहका नाममा लगिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ।
पछिल्लो समय चौधरी परिवारको स्वामित्वमा रहेको चाँदबाग रेसिडेन्सीको नाममा रहेको जग्गाबारे अनुसन्धान गर्न केही समयअघि सांसद चौधरीका भाइ अरुण चौधरीलाई सिआइबीले पक्राउ गरेको थियो। गृहमन्त्री रवि लामिछानेको निर्देशनमा यसै साता सांसद चौधरीको पनि बयान लिइएको छ ।
यस्तै सरकारले उक्त जग्गा राज्यको नाममा पनि ल्याइसकेको छ। यसै सन्दर्भमा निर्वाणले पछिल्लो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।
सार्वजनिक अभिव्यक्तिको पूर्ण पाठ
१८० वर्ष पहिले टाटा समूह भारतमा आयो । आज भारतीय अर्थतन्त्रमा ठूलो योगदान दिनुका साथै भारतका लागि गौरव बनेको छ यो व्यापारिक घराना । १५० वर्षअघि नेपाल आएको हाम्रो परिवारको छैठौं पुस्ता पुगेको छ। नेपालको कुल राजश्वमा करिब २ प्रतिशत योगदान, देशको सबैभन्दा ठूलो रोजगारदाता, नेपाल बाहिर पनि तीव्र व्यापार विस्तार गरेर नेपाली चन्द्र–सूर्य अङ्कित राष्ट्रिय झण्डालाई विश्वमन्चमा फैलाइरहेका छौं ।
हाम्रो प्यारो देश नेपालको आर्थिक समृद्धिका लागि सदैव समर्पित र प्रतिबद्ध छौ। देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला निस्वार्थ सहायताको कार्यमा हामी सबैभन्दा अगाडि छौं भन्दा बडो आत्मसन्तुष्टि हुन्छ । भूकम्पका बेला होस्, कोरोना वा यस्तै अन्य कुनै आपत्कालीन समयमा हामी निसंकोच जनताको सेवामा जोडिँदै आएका छौं । हाम्रो विश्वसनीयता र उत्कृष्ट ट्याक रेकर्डकै कारण त हामीसङ्ग हार्वर्ड बिजिनेस स्कुल, बिल र मेलिन्डा गेट्स फाउन्डेशन वा टाटाहरूलगायतले सहकार्य गर्दै आएका छन् ।
आज यो देश कुन अवस्थामा छ, कसरी यस्तो भयो, यो देशको हित कसले गर्छ भन्नेबारे युवाहरूले एकपटक आफैलाई प्रश्न सोध्नेबेला भएको छ । के युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन् ? आज राजनीति स्टण्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला रु एकपटक आत्ममन्थन गरौं ।
यो देशलाई समृद्धि र सकारात्मक बाटोमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने मिडियाजगतले अहिलेको अस्तव्यस्तता र अन्यौलताको वातावरणलाई सहज बनाउन भूमिका खेल्नेछ भन्ने विश्वास मेरो छ ।
केही समयदेखि बाँसबारी जग्गाका विषयमा जुन धारावाहिक प्रहसन चलेको छ, यसमा थप टिप्पणी गर्न चाहन्न। न्यायालयले नै यसको छिनोफानो गर्ने नै छ। म यतिमात्रै भन्न चाहन्छु कि तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न जे जस्ता कार्यहरु भइरहेका छन्, यसले यो मुलुकलाई कता लैजान्छ, एकपटक सबैले आत्मसमिक्षा गरौं ।