ई–आर्थिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली काँग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन्।
आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि शेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भनी प्रश्न गरेका थिए। उनले अनुसन्धानको दायरामा राखेर विनोद चौधरीलाई किन बयान लिइएन भनी प्रश्न गरे।
‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिन अगाडी हिरासतमा राखिएको देखियो। जग्गा हडप्दा चौधरीकै जति शेयर भएका अन्य साझेदारहरु मध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको पनि देखिएको छ। तर अनुसन्धानको दायरामा राखेर बयान त लिन सकिन्थ्यो होला। बयान लिइयो कि लिइएन रु’ उनले भने।
यसैबीच उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा काठमाडौं अदालतको आदेश अनपेक्षित भएको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा श्रेष्ठले उक्त प्रकरणमा म्याद थप गर्न जाँदा दुई दिनभित्र अनुसन्धान सकेर रिहा गर्न अदालतले निर्देशन दिने कुरा अनपेक्षित र नेपालको न्यायीक इतिहासमै पहिलो भएको बताए ।
यद्दपी उनले अदालतको सम्मान गर्ने र आदेश कार्यान्वयन गर्ने जिकिर गरे । उक्त प्रकरणमा अनुसन्धान जारी रहेको गृहमन्त्री श्रेष्ठले जानकारी दिए ।
उनले पूर्व गृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतीक थापा बारे के पत्ता लाग्यो र खोज्ने प्रक्रिया कहाँ पुग्यो भनी प्रश्न समेत गरे। त्यस्तै इन्द्रजित राईका छोरा निरजबारे पनि उनले प्रश्न गरे।
उनले मुद्दा चलिरहेका विचौलियाहरुले पूर्व गृहमन्त्री रामबहादुर थापाको श्रीमती नैककला थापाको पनि नाम पोलेको भन्दै उनमाथि अनुसन्धान भएरनभएको जानकारी गराउन समेत माग गरे।