२०८३ साउन ११ सोमबार

एनसेल प्रकरणको छानबिन प्रतिवेदन : खरिदबिक्री यथास्थितिमा स्वीकार नगर्नु

ई आर्थिक    मंगलबार, माघ १६ २०८०
3.2K
Shares
एनसेल प्रकरणको छानबिन प्रतिवेदन : खरिदबिक्री यथास्थितिमा स्वीकार नगर्नु

काठमाडौं : एनसेलको शेयर खरिद/बिक्री सम्बन्धी छानबिन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ । पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा संयोजकत्वको ५ सदस्यीय उच्चस्तरीय समितिले सोमबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रतिवेदनको विषय सार्वजनिक जानकारीमा ल्याइनेछ ।

तर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै छानबिन समितिका संयोजक टंकमणि शर्माले ‘यथास्थितिमा एनसेलको पछिल्लो शेयर खरिद/बिक्री स्वीकार गर्न नसकिने निष्कर्ष’ निकालिएको जानकारी दिए । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले निष्कर्षमाथि थप अध्ययन गरेर कार्यान्वयनमा लगिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आयोगका सदस्यहरुका अनुसार शेयर खरिद/बिक्रीमा स्रोत नखुलेको सम्पति प्रयोग भएको निष्कर्षमा पुगिएको छ । यस सम्बन्धमा थप अनुसन्धान गर्न र अनुसन्धानका आधारमा संलग्नहरुमाथि सम्पति सुद्धिकरणको मुद्दा चलाउन भनिएको छ । अन्यथा, संलग्नहरुमाथि भ्रष्टाचारको मुद्दा समेत चलाउन सकिने आयोगको निष्कर्ष छ ।

सरकारलाई जानकारी नदिई मलेसियन कम्पनी आजियाटाले एनसेलको शेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो । सो खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो ।

गत मंसिर २१ गते गठित ५ सदस्यीय छानबिन समितिका सदस्यहरुका अनुसार राजस्व चुहावट, सम्पत्ति शुद्धीकरण र त्यसमा सघाउने सार्वजनिक पदाधिकारीहरुले भ्रष्टाचार गरेको प्रवल सम्भावना प्रतिवेदनमा औंल्याइएको छ । यसतर्फ सम्बन्धित निकायबाट अनुसन्धान हुनुपर्ने आयोगको निष्कर्ष छ ।

नीतिगत व्यवस्था सुधार लगायत विषय पनि सुझाइएको छ । कतिपय विषयमा नीतिगत सुधार र कानून संशोधन गर्न अपरिहार्य रहेको भन्ने हाम्रो छानबिनको निष्कर्ष छ ।

साथै, स्मार्टसेलमा लगानी गरेको समूहले राज्यलाई तिर्नुपर्ने दायित्व नतिरेको अवस्थामा त्यही समूहले वैदेशिक लगानीको नाममा फेरि एनसेलमा लगानी गरेको भन्दै समितिले एनसेलको शेयर खरिदबिक्री सम्बन्धी पछिल्लो सम्झौतामा शंका व्यक्त गरेको छ ।

समितिले प्रतिवेदन बुझाएसँगै आजियाटा ग्रुप बर्हाड र स्पेक्ट्रालाइट यूकेवीच १ डिसेम्बर २०२३ मा भएको एनसेल आजियाटाको शेयर खरिद बिक्री सम्झौतामा उल्लिखित कारोबार समान व्यावसायिक व्यवहारको सिद्धान्तमा आधारित भएको नदेखिएको निष्कर्ष निकालेको छ ।

‘बिक्रीकर्ता पक्ष हावी भई खरिदकर्ता पक्षमा स्वभाविक भन्दा बढी शर्तहरू राखेको, शेयर बिक्रीपश्चात वर्षौसम्म पनि विक्रेताले आफूले बिक्री गरेको कम्पनीको लाभांश लैजान पाउने, मुद्दा गर्न पाउने, कम्पनीको ऋण तथा दायित्व समेत बिक्रीकर्तामा नहुनेजस्ता शर्तहरू भएकोले उक्त सम्झौता स्वतन्त्र ढंगले भएको स्वभाविक सम्झौता मान्न सकिने नदेखिएको’ प्रतिवेदनमा भनिएको हो ।

वार्षिक रूपमा नै अबौं मुनाफा आर्जन गरिरहेको नेपालकै ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले विज्ञप्तिमार्फत् सार्वजनिक गरेको शेयर कारोबारको व्यावसायिक मूल्य र सम्झौताका शर्तहरू स्वभाविक नदेखिएको, खरिदकर्ताको प्राविधिक सक्षमता र करोडौँ ग्राहक रहेको टेलिकम कम्पनी सञ्चालन गर्न आवश्यक वित्तीय क्षमता समेत सबल नदेखिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij