२०८३ साउन १० आइतबार

साल्ट टेड्रिङले पनि थाल्यो भवन निर्माण व्यवसाय

ई आर्थिक    शुक्रबार, माघ १२ २०८०
4.6K
Shares
साल्ट टेड्रिङले पनि थाल्यो भवन निर्माण व्यवसाय

काठमाडौँ । नुन, रासायनिक मल, एलपी ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भवन निर्माण व्यवसायमा पनि हात हालेको छ । कर्पोरेसनले उपभोक्ताको चाहना अनुसार घर बनाइदिने तथा आफैँ जग्गा किनेर भवन बनाएर बिक्रीवितरण गर्ने काम पनि सुरु गरेको छ ।

कर्पोरेसनका विभागीय प्रबन्धक व्रजेश झाले नयाँ कम्पनी फ्युचर वर्कस् बिल्डिङ सोलुसन प्रालि स्थापना गरी नयाँ प्रविधिको घर निर्माण गरिदिने तथा आफैँ पनि घर निर्माण गरेर बेच्ने कार्य सुरु गरिएको बताउनुभयो । नेपाल भूकम्प जोखिमयुक्त देश हो, त्यस अवस्थालाई सुहाउँदो इँटा, बालुवा, कङ्क्रिट प्रयोग नगरी घर निर्माण गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य भनेको हलुका र भूकम्प प्रतिरोधी घर निर्माण गरेर उपभोक्तालाई सुलभ सेवा दिने हो ।” यसका लागि कर्पोरेसनले अमेरिकी कम्पनी फिनाकलसँग व्यावसायिक साझेदारी पनि गरेको छ ।

“कर्पोरेसनले तयार गर्ने घर डिपिसीभन्दा माथि पानीको प्रयोग करिब हुँदैन,” उहाँले भन्नुभयो, “फाउन्डेसन बनिसकेपछि त्यसमा बोल्ट निकालेर स्टिल स्ट्रक्चर, प्लाइउड, बोर्डलगायतका वस्तु प्रयोग गरेर घर बनाउने प्रविधि हो यो ।” यो प्रविधिमा डिपिसीसम्म पुरानै प्रविधिबाट बनाइन्छ । त्यसपछि नटबोल्ट राखेर लाइट गेज स्टिल (एलजिएस) का फ्रेम राखेर घर बनाइन्छ । स्टिलका सो फ्रेमभित्र विभिन्न प्रकारका बोर्ड राखेर पर्खाल निर्माण गरिन्छ ।

छानोमा अहिलेका नयाँ प्रविधियुक्त सामग्री राख्न वा ढलान पनि गर्न मिल्ने बताउँदै उहाँले झ्याल र ढोका युपिभिसी वा काठका पनि राख्न सकिने बताउनुभयो । कर्पोरेसनले काठमाडौँको दहचोकमा यही प्रविधिको प्रयोग गरेर १० वटा घर बनाइसकेर बिक्री पनि खुला गरिसकेको छ ।

नेपालको भौगोलिक अवस्थाले गर्दा सबैले पिल्लर भएको आरसिसी प्रविधिबाट घर बनाउन सक्दैनन् । एउटै ट्रकमा तीन वटा घर बन्न सक्ने सामग्री बोकेर जुनसुकै ठाउँमा गएर घर निर्माण गर्न सकिने भएकाले यो नेपालका लागि उपयुक्त प्रविधि भएको उहाँले बताउनुभयो ।

एलजिएस प्रविधिले घर बनाउँदा कोठाहरू फराकिलो हुनुका साथै हलुका पनि हुन्छ । एलजिएस प्रविधिबाट घर बनाउँदा तापक्रम र साउन्डप्रुफ पनि मिलाएर राख्न सकिने कम्पनीले जनाएको छ ।

डिपिसीभन्दा माथिको भाग लाइट गेज स्टिल (एनजिएस) र बोर्डबाट बन्ने भएकाले यो घरलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न पनि सकिने विभागीय प्रबन्धक झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij