२०८३ साउन २२ शुक्रबार

भुटान एयरलाइन्सका फ्लाईटहरु भाद्र ३० गतेबाट सुचारु हुने

ई आर्थिक    बुधबार, भाद्र २० २०८०
5.5K
Shares
भुटान एयरलाइन्सका फ्लाईटहरु भाद्र ३० गतेबाट सुचारु हुने

ई–आर्थिक, काठमाडौं । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्स (बि–३) ले आफ्ना फ्लाईटहरु पुनः सुरु गर्ने घोषणा गरेको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस (आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था) ले यसको जानकारी दिएको हो । यी उडानहरु भाद्र ३० गतेबाट आइतवार, सोमबार, बुधबार, र शनिबार गरि साप्ताहिक रुपमा ४ चोटि हुने भएका छन् । यी उडानहरुले पारो–काठमाडौं–दिल्लीलाई दुईतर्फी रुपमा जोड्नेछन् ।

निर्धारित फ्लाईटहरु पुनः सुचारु गरेसँगै भुटान एयरलाइन्सले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण रोकिएको काठमाडौंका उडानहरु पुनः सुचारु हुने भएको हो । “थन्डर ड्रागनको भूमि” भनेर चिनिने भुटानले पर्यटन प्रवद्र्धन गर्ने र नेपाल भुटान सम्बन्धलाई सुदृढ गर्ने प्रतिवद्धता अनुरुप सन् २०१३ बाट भुटान एयरलाइन्सले आफ्नो पहिलो काठमाडौँ उडानको शुरुवात गरेको थियो ।

भुटान–काठमाडौं फ्लाइट पुनः सुचारु भएकोमा खुशी व्यक्त गर्दै भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले भन्नुभयो, “एक निजी एयरलाइन्स भएका कारण हामीले कोभिड–१९ महामारीको समयमा उडानहरू रद्द गर्ने वा रिरुट गर्ने जस्ता कठिन निर्णयहरू लिनुपर्ने जस्ता चुनौतीहरूको सामना गर्नुपरेको थियो ।

यसले अवश्य पनि हाम्रा ग्राहकहरुलाई असुविधा भएको थियो र हाम्रो विश्वसनीयतामा पनि प्रश्न उत्पन्न भएको थियो भन्ने हामीलाई अवगत छ । यिनै कुराहरुलाई मध्यनजर गर्दै यसपटक भने हामी उडान तालिका नियमित राख्न प्रतिबद्ध छौँ । हामी हाम्रा सम्पूर्ण ग्राहकहरुलाई यो विश्वास दिलाउन चाहन्छौँ कि हामी जस्तोसुकै चुनौतीपूर्ण समयमा पनि उडानहरु अब नियमित राख्नेछौँ र विश्वसनीय वायुसेवाको रुपमा आफुलाई स्थापित गराउनेछौँ ।”

त्यस्तै सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका चेयरम्यान रविचन्द्र सिंहले भन्नुभयो, “भुटान एयरलाइन्सको उडान पुनः सुरु भएकोमा हामी अत्यन्तै उत्साहित छौँ । यस नयाँ सुरुवातका साथ दुवै देशका पर्यटकहरूलाई थप सहज हुनेछ र यसले पर्यटन उद्योगलाई थप प्रवद्र्धन गर्नेछ भन्ने कुरामा हामी आशावादी छौँ । भुटान एयरलाइन्सको लागि नेपालको आधिकारिक जीएसएको रूपमा हामीले यस एयरलाइन्समार्फत सर्वोत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहनेछौँ ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij