२०८३ साउन १४ बिहिबार

सात बीमा कम्पनीले मात्र पुर्‍याए चुक्ता पूँजी, बाँकीलाई हकप्रद निष्कासनको बाटो खुलाइने

ई आर्थिक    बिहिबार, असार २१ २०८०
7.3K
Shares
सात बीमा कम्पनीले मात्र पुर्‍याए चुक्ता पूँजी, बाँकीलाई हकप्रद निष्कासनको बाटो खुलाइने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई न्यूनतम चुक्ता पूँजी कायम गर्न दिएको समयसीमा सकिन अब केही दिन मात्र बाँकी छ । अहिलेसम्म सातओटा बीमा कम्पनीले मात्रै प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्‍याएका छन् ।

प्राधिकरणका अनुसार बाँकी कम्पनीलाई न्यूनतम चुक्ता पूँजी कायम गर्न हकप्रद निष्कासनको बाटो खुलाइनेछ । प्राधिकरणको बोर्ड बैठकले एनएलजी इन्स्योरेन्सलाई ६६ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि अनुमति दिइसकेको छ । नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) ले पूँजी वृद्धिका लागि कम्पनीहरूलाई १ वर्ष समय दिएको थियो । तर, उक्त अवधिमा कम्पनीहरूले निर्धारित पूँजी नपुर्‍याएछि प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८०’ जारी गर्दै उनीहरूलाई तोकिएको चुक्ता पूँजी कायम गर्ने सीमा चालू आर्थिक वर्षको असार मसान्तसम्म तोकेको छ ।

प्राधिकरणले जीवन बीमा कम्पनीका लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी तोकेको छ । यसअघि निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ चुक्ता पूँजी थियो । प्राधिकरणले दिएको समयसीमा सकिन केही दिन बाँकी रहँदा सञ्चालनमा रहेका १५ ओटा जीवन बीमा कम्पनीमध्ये ३ ओटाले न्यूनतम चुक्ता पूँजी कायम गरेका छन् । निर्जीवनतर्फ १४ कम्पनीमध्ये ४ ओटाले प्राधिकरणले तोकेको चुक्ता पूँजी कायम गरेका छन् । प्राधिकरणका अनुसार विदेशी कम्पनीका शाखाको रूपमा सञ्चालित कम्पनीले भने पूँजी वृद्धि गर्नु पर्दैन ।

जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालन लाइफ इन्स्योरेन्स लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मात्रै प्राधिकरणले तोकेको चुक्ता पूँजी कायम गरेका छन् । नेपाल लाइफले ८ अर्ब २० करोड, हिमालयन लाइफले ८ अर्ब २ करोड र नेशनल लाइफले ५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेका छन् ।

निर्जीवनतर्फ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राधिकरणले तोकेको पूँजी पुर्‍याएका छन् । आईजीआई प्रुडेन्सियलको ३ अर्ब २ करोड, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड, शिखरको २ अर्ब ६५ करोड र सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ ।
नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार न्यूनतम चुक्ता पूँजी कायम गर्न नसकेका कम्पनीलाई हकप्रद निष्कासन र बोनस शेयरको बाटो खुलाउने तयारी छ । ‘प्राधिकरणको पूँजी वृद्धिको पहिलो प्राथमिकता मर्जर थियो ।

अब हकप्रद निष्कासनको बाटो खोलेर न्यूनतम चुक्ता पूँजी कायम गर्ने मौका दिइन्छ,’ उनले भने, ‘चारओटा बीमा कम्पनी भने प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रक्रियामा छन् ।’ पौडेलका अनुसार प्राधिकरणको गत शुक्रवार बसेको बोर्ड बैठकले एनएलजी इन्स्योरेन्सलाई ६६ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिने निर्णय गरेको छ । हाल एनएलजी इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ छ । हकप्रद निष्कासनपछि यसको चुक्ता पूँजी २ अर्ब ४२ अर्ब रुपैयाँ पुग्ने समाचार अनन्त्य सुन्दरले आर्थिक अभियानमा लेखेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij