२०८३ साउन १० आइतबार

१३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

ई आर्थिक    शुक्रबार, साउन १ २०८३
570
Shares
१३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ वर्षको गौरवमय यात्रा पूरा गर्ने क्रममा प्रथम बीमा शुल्क १३ अर्ब रुपैयाँभन्दा बढी आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेको छ। कम्पनीले यस उपलब्धिसँगै जीवन बीमा क्षेत्रमा पहिलो पटक १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्ने कम्पनी बन्न सफल भएको जनाएको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरिएको हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दै नयाँ रेकर्ड बनाएको थियो। त्यसको तुलनामा चालु वर्षमा प्रथम बीमा शुल्क करिब ३० प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।

नेपाल लाइफले आफ्नो रजत जयन्ती (Silver Jubilee) को अवसरमा हासिल गरेको यो उपलब्धिले नेपालको जीवन बीमा उद्योगमा नयाँ मानक स्थापित गरेको कम्पनीको दाबी छ। कम्पनीका अनुसार २५ वर्षदेखि विश्वास, गुणस्तरीय सेवा र उत्कृष्ट कार्यसम्पादनलाई केन्द्रमा राखेर अघि बढेकै कारण यस्तो उपलब्धि सम्भव भएको हो।

यस ऐतिहासिक सफलताप्रति प्रतिक्रिया दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई निरन्तर मार्गदर्शन गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीप्रति विश्वास कायम राख्ने सम्पूर्ण बीमित, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबै सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।

उनले यो उपलब्धि नेपाल लाइफको मात्र नभई ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी र सम्पूर्ण सरोकारवालाको साझा सफलताको प्रतिफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि सेवा विस्तार र गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखिने बताए।

पराजुलीका अनुसार कम्पनीले आगामी दिनमा प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा प्रणालीलाई थप सुदृढ बनाउने, समयानुकूल नवीन बीमा योजना सार्वजनिक गर्ने, लगानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा लगानी विविधीकरणमार्फत प्रतिफल वृद्धि गर्ने रणनीति अघि बढाउनेछ। साथै कर्मचारी र बीमा अभिकर्ताको ज्ञान, सीप तथा दक्षता अभिवृद्धिका लागि नियमित तालिम सञ्चालन गर्दै विश्वस्तरीय जीवन बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ।

नेपाल लाइफले ‘२५ वर्षको विश्वास, आज १३ अर्बभन्दा बढीको ऐतिहासिक उपलब्धि’ भन्ने सन्देशलाई आफ्नो संस्थागत यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै आगामी दिनमा पनि नेपाली जीवन बीमा उद्योगको अग्रणी संस्थाका रूपमा नवीन कीर्तिमान कायम गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

जीवन बीमा क्षेत्रमा निरन्तर बजार विस्तार, सेवाको गुणस्तर सुधार तथा प्रविधिको प्रभावकारी प्रयोगमार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाल लाइफको यो उपलब्धिले समग्र बीमा उद्योगका लागि नयाँ मापदण्ड स्थापित गरेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij