ई–आर्थिक, काठमाडौं । कतारले ग्यास बिक्रीका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सीएनपीसी) लाई २७ वर्षसम्मका लागि ग्यास आपूर्तिका लागि कतारले सम्झौता गरेको हो । कतारले चीनको सरकारी कम्पनीसँग एक वर्षको बीचमा दोस्रो पटक ग्यास आपूर्तिको सम्झौता गरेको छ ।
कतार इनर्जी र सीएनसीपीले मंगलबार सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त कम्पनीले अब वर्षमा ४० लाख मेट्रिक टन ग्यास कतारसँग खरिद गर्नेछ । सीएनपीसी कतारको उत्तरी क्षेत्रस्थित एलएनजी प्रोजेक्टमा पनि हिस्सेदार हुने भएको छ ।
‘आज हामीले दुई सम्झौतामा हस्ताक्षर गरेका छौं, जसले विश्वको सबैभन्दा महत्त्वपूर्ण ग्यास बजारसँग हाम्रो सम्झौता बलियो बनाउँछ,’ कतार इनर्जीका सीईओ साद अल कावीले भने । गत नोभेम्बरमा कतार इनर्जीले चीनको सिनोपेक कम्पनीसँग पनि यस्तै सम्झौता गरेको थियो । सम्झौताअनुसार सिनोपेकले पनि वार्षिक ४० लाख टन ग्यास किन्नेछ ।