२०८३ साउन २२ शुक्रबार

संखुवासभा दुर्घटना प्रकरण : नागरिक उड्डयन प्राधिकरणद्वारा सिम्रिक एयरका सबै हेलिकोप्टर ग्राउन्डेड

ई आर्थिक    आइतबार, बैशाख २४ २०८०
5.8K
Shares
संखुवासभा दुर्घटना प्रकरण : नागरिक उड्डयन प्राधिकरणद्वारा सिम्रिक एयरका सबै हेलिकोप्टर ग्राउन्डेड

ई–आर्थिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड गरेको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी हेलिकोप्टरलाई ग्राउन्डेड गरिएको हो । जिल्लाको भोटखोला गाउँपालिका–४, सिप्रुङ भन्ने स्थानमा नाइन एन एजेजेड रजिस्ट्रेसन रहेको हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो ।

उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्राधिकरणको हवाई सुरक्षा विभागले कम्पनीका बाँकी हेलिकोप्टरको विस्तृत निरीक्षण, उडान योग्यता, हवाई सुरक्षा व्यवस्थापन प्रणालीको अडिटयसलगायतका परीक्षण नहुन्जेलसम्म उडानमा प्रतिबन्ध लगाएको हो । सुरक्षा जाँचका लागि काठमाडौँबाहिर रहेका हेलिकोप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ता बोलाइएको छ । प्राधिकरण स्रोतका अनुसार दुर्घटनामा घाइते भएका पाइलट सुरेन्द्र पाण्डेको अवस्थामा सुधार आएपछि घटनाबारे स्पष्टीकरण लिनेसमेत प्राधिकरणको तयारी रहेको छ । पछिल्लो एक महिनाको अवधिमा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले सुरक्षा जाँचमा कडाइ गर्न लागेको हो । गत चैत २५ गते काठमाडौँको ह्याम्स अस्पतालको हेलिप्याडमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको थियो । त्यस्तै चैत २६ गते धौलागिरि बेस क्याम्प नजिकै एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुवै दुर्घटनामा मानवीय क्षति भने भएको थिएन । सिम्रिकले हाल माउन्टेन फ्लाइटसहित पोखरा, भैरहवा, जोमसोम र लुक्लामा उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij