ई–आर्थिक, काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार दिउँसो राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पद तथा गोपनीयताको शपथ लिएका हुन ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उहाँहरूलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका हुन् । तीन जना नै कांग्रेसका तर्फबाट मन्त्री बनेका हुन् ।
कानुनमन्त्री बन्नुभएका धनराज गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत हुन भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेत केन्द्रीय सदस्य हुन् ।
शपथ समारोहमा अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी कर्मचारीलगायतको सहभागिता थियो।