ई–आर्थिक, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीका क्रममा उहाँले स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने बताउनुभयो । मुलुकको समृद्धिका लागि श्रम मन्त्रालयले योगदान गर्न सक्ने गरी मन्त्रालयलाई सञ्चालन गरिने बताउनुभयो ।
अहिले मन्त्रालयले गरिरहेका सम्पूर्ण कामकारबाहीलाई पुनरावलोकन गरिने उहाँको भनाइ छ । उहाँले सीपयुक्त दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन पहल गरिने बताउनुभयो ।
पदबहालीका क्रममा मन्त्री भण्डारीले अभिमुखीकरण सेवा प्रदायक संस्थाका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्नेसम्बन्धी निर्णय गर्नुभएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा धेरैपटक मन्त्री बन्ने नेतामा उहाँ पर्नुहुन्छ । मधेसको महोत्तरीबाट राजनीतिक गर्ने भण्डारी १२ औं पटकसम्म मन्त्री भएका छन् । राजनीतिका साथै स्थानीय जिल्लामा मन्त्री भण्डारीको छुट्टै लोकप्रियता छ । यतिखेर मन्त्री भण्डारीलाई शुभकामना र बधाई दिनेको ओइरो लागेको छ ।

नव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी मन्त्रालयमा आफ्नो पदबहाली गर्नुहुँदै ।