ई–आर्थिक, नुवाकोट । पछिल्लो समयमा लघुवित्तको विषयमा धेरै टिक्का टिप्पणीहरु बजारमा आइरहेकै समयमा लघुवित्त कम्पनीहरुमा भएको बदमासी धमाधम बाहिर आउन थालेको छ । यसैक्रममा नुवाकोट तादी गाउँपालिकाका एक वित्तीय संस्थाको पैसा अपचलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । तादी गाउँपालिका–३ मा रहेको आरम्भ चौतरी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खरानीटार नुवाकोट शाखाका तत्कालीन शाखा प्रबन्धक विवश पाण्डे संस्थाको पैसा हिनामिना गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
उक्त संस्थामा आबद्ध सदस्यहरूको विभिन्न मितिमा किर्ते कागजात बनाई अनधिकृत रुपमा पैसा निकालेको भन्ने उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका पाण्डेमाथि ८ करोड २२ लाख ६५ हजार ५ सय ९७ रुपैयाँ ४० पैसा अपचलन गरेको आरोपमा छ । उनीमाथि बैकिङ कसुरमा अनुसन्धान भइरहेको छ ।
यसअघि पनि केही लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले अपचलन गरेका घटना सार्वजानिक भइसकेको छ ।
विशेषगरी अनपढ, सामान्य नागरिकहरु बढी सेवाग्राही भएको लघुवित्त वित्तीय संस्थामा कर्मचारीहरुले धेरै ठूला–ठूला बदमासी गरेको पुष्टि हुन थालेको छ ।