ई–आर्थिक, काठमाडौं । टर्कीको भुकम्पमा परी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भक्तपुरका विभिन्न सामाजिक संघ/संस्थाका प्रतिनिधिले दीप प्रज्वलन गरेका छन् ।
भक्तपुरका विभिन्न ४० भन्दा बढी सामाजिक संघ/संस्थाका प्रतिनिधि उपस्थित भई दिवंगत आत्माको चीर शान्तिको कामना हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
यही २०७९ साल माघ २३ गते सोमबार टर्की र सिरियामा गएको ७.८ रेक्टरको भूकम्पले ती देशका २४ हजार भन्दा बढी नागरिकहरुको दुःखद निधन भएको थियो । सो भुकम्पमा ठूलो मात्रामा धन सम्पत्तिको नोक्सानी हुनुको साथै लाखौंको संख्यामा घाइते हुनुभएको समाचार भएका थियो । २०७२ सालको भूकम्पको प्रकोपबाट प्रताडित हामी नेपाली नागरिकहरु स्तब्ध भएको स्थानीय समाजसेवी गोपीकृष्ण न्यौपानेले बताउनुभयो ।
टर्कीमा भएको यस्तो दुःखद घडीमा हामी भक्तपुरबासीहरु आज भक्तपुरको तौमाडी परिसरमा ४० भन्दा बढी विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु गरी सयौंको हाराहारीमा उपस्थित हुनुभएको उहाँले जानकारी दिनुभयो ।
सो उपस्थितिजनले भूकम्पको कारणले घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूमा शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । साथै किसिमको अत्यन्त दर्दनाक पीडामा मानवीय उद्वारका लागि विश्व समुदाय लागिपरेको र अझ लागि पर्न अन्तर्राष्ट्रिय संघ/संस्थालाई आव्हान समेत गरियो ।
स्वच्छ हावा प्रवर्द्धन संजाल भक्तपुरका अध्यक्ष नवराज काफ्लेले कार्यक्रम संचालन गर्नुभएको थियो भने उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपाने लगायत विभिन्न संस्थाका प्रमुख/प्रतिनिधिद्वारा दीप प्रज्जवलनमा सहभागी भएका थिए ।